नेपाली फिल्मी कलाकार पछिल्लो समय सामाजिक देखिन थालेका छन् । सहयोगको आवश्यकतामा रहेका व्यक्तिप्रति सहयोगी भाव देखाउने कलाकारको जमात बढ्दै गएको छ ।
लाग्छ, कलाकार हिजोआज फिल्म खेल्न भन्दा समाजसेवामा बढी व्यस्त छन् । खुला दिलले समाजसेवामा बढाएको हातलाई सबैले ‘सलुट’ गर्नै पर्छ । आइडियल मानिएका कलाकारको सामाजिक कार्यले अन्य व्यक्तिलाई पनि सामाजिक बन्न प्रेरित गर्छ । प्रेरणाको श्रोत मानिएको सामाजिक सेवा पछिल्ला दिनहरुमा भने ‘फेसन’ को रुपमा बद्लिएको जस्तो देखिएको छ ।
चाउचाउ र विस्कुटका बक्सा बाँडेको तस्बिर सार्वजनिक गर्दा कलाकार केका लागि सामाजिक कार्यमा सहभागी हुँदैछन् ? भन्ने जिज्ञासा स्वभाविक रुपमा उब्जिएको छ । फिल्म खेलेर नाम कमाइसकेका कलाकारले नामैका लागि सामाजिक कार्य गरेका हुन् ? या, मनैदेखि समाजसेवा गरेका हुन् ? समाजसेवा हल्लाले गरिंदैन तर यहाँ चाउचाउको पोको बाँड्दा पनि ठूलो हल्ला गरिन्छ ।
अरू बेला चुप लागेर बस्ने सेलिब्रेटी आफ्नो बर्थडेमा भने दुई बोरा चामल, एक कार्टुन तेल र चार कार्टुन चाउचाउ तथा बिस्कुटको पोको बोकेर हिंडेको देख्दा नहाँस्ने कमै होलान् । बिना स्वर्थ गरिएका सामाजिक कार्यको भने सबैबाट प्रशंसा हुन जरुरी छ । तर, सानो काममा पनि ठूलो हल्ला गर्दा त्यसले आफ्नै स्तर खस्काउँछ भन्ने कुरा बुझ्ने पो हो कि !

