अभिनेत्री रेखा थापा फिल्म ‘हिम्मतवाली’लाई सफलसँगै असल बनाउने कसरतमा छिन् । दृश्यलाई उत्कृष्ट रुपले क्यामेरामा कैद गर्ने छायाँकार पुरुषोत्तम प्रधानलाई रेखाले ‘हिम्मतवाली’मा अनुबन्धित गरेकी छिन् ।
रेखा ब्यानरमा पुरुषोत्तमको पहिलो प्रवेश हो । हिट फिल्म ‘लंका’का निर्देशक श्याम भट्टराईले निर्देशन गर्ने ‘हिम्मतवाली’ मा संगीतकार बसन्त सापकोटा हाल म्युजिक एरेञ्जिङमा व्यस्त छन् । बसन्तद्धारा संगीतवद्ध रेखाकै ‘काली’ फिल्मको ‘स्लोली स्लोली’ बोलको गीत सर्वाधिक हिट बन्यो ।
रेखा फिल्मस्कै ‘रावण’, ‘हमेशा’ फिल्मबाट उत्कृष्ट द्धन्द्ध निर्देशकको अवार्ड उचालेका चन्द्र पन्त पनि ‘हिम्मतवाली’मा अनुबन्धित भएका छन् । नायक चाहिं को त ? रेखाले भनिन्- ‘हिम्मतवाली’बाट एक सशक्त नायकको प्रवेश हुँदैछ । अहिले फिल्ममा देखिएको नायकको अभावलाई ‘हिम्मतवाली’को नायकले परिपुर्ती गर्नेछ ।’ रेखाले नायकको नाम भने केही समय सार्वजनिक नगर्ने बताइन् ।
आउँदो साता गीत रेकर्डिङ गरिने ‘हिम्मतवाली’को छायाँकन फागुनको दोस्रो हप्ताबाट प्रारम्भ हुनेछ । फिल्मको लोकेसन तराईलाई रोजिएको छ । रेखा भने यतिखेर शरीरलाई स्लिम बनाउन नियमीत व्यायममा जुटेकी छिन् ।

