चलचित्र विकास बोर्डबाट गठित आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवर्द्धन समितिको दश दिने गोष्ठी प्रारम्भ भएको छ । आदिवासी जनजाती मातृभाषाको फिल्म प्रवर्द्धनका लागि पाल्पाको तानसेनमा माघ ४ गतेदेखि उक्त गोष्ठी सुरु भएको हो ।
‘चलचित्र मार्फत आदिवासीको खोजी’ शिर्षकको गोष्ठीमा आदिवासी जनजातिहरुको भाषा, कला, संस्कृति र संस्कार संरक्षण तथा संवर्द्धनको बहस हुनेछ । पाल्पाको दश दिने कार्यशाला आयोजना पश्चात सहभागी प्रशिक्षार्थी दश वटा समुहमा विभाजन भएर स्थानिय स्तरमा कथाहरुको खोजी गरी लघु फिल्म समेत निर्माण गर्नेछन् ।
आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति, चलचित्र विकास बोर्ड र आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले आयोजना गरेको गोष्ठीको उदघाटन तथा समापन वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैताबाट हुनेछ । गोष्ठीमा आदिवासी जनताजी फिल्मकर्मीको सहभागी हुनेछ ।
पुस्तौँदेखि विभेद र उत्पिडनमा पारिएर पिछाडिएका र लोपन्मुख अवस्थामा रहेका आदिवासी जनजातिहरूको भाषा, कला, संस्कार र संस्कृतिको उत्थान, संरक्षण र संवर्द्धनको लागि ‘आदिवासी जनजाति चलचित्र निर्माण कार्यशाला’ एक कोशेढुङ्गो सावित हुने आयोजकले बताएको छ ।





