छैटौं नेफ्टा अवार्डमा अभिनेता जीवन लुइँटेल, अभिनेत्रीद्धय सञ्चिता लुइँटेल र प्रियंका कार्की छुट्ने भएका छन् । यही जनावरी ३१ तारिखमा मलेसिया हुने नेफ्टा अवार्ड छोडेर यी कलाकार मलेसियामै हुने एनसेल इभेन्टसमा सहभागी हुने भएका हुन् ।

अवार्ड हुने जनावरी ३१ तरिखमै एनसेल इभेन्ट हुने भएपछि उनीहरु नेफ्टा अवार्डमा सहभागी हुन नपाउने भएका हुन् । नेफ्टा अवार्डका लागि प्रियंकाले नृत्य 'रिहर्सल' समेत गरेकी थिईन् । अभिनेत्री कार्कीले अवार्डको मिति स्थगित हुनु र एनसेलसँग सम्झौता हुनुले अवार्डमा सहभागी हुन नसक्ने बताइन् । जीवन, सञ्चिता र प्रियंका तीन दिन एनसेल टुरमा सहभागी हुनेछन् ।
यता नेफ्टा आफूलाई नचाहिने भन्दै नमस्कार गरेकी अभिनेत्री निशा अधिकारी पनि अवार्डमा सहभागी नहुने बताईन्छ । केहि समय अगाडी नेफ्टाका अध्यक्ष मनोज केसी र निशाले आफूहरू एकअर्कालाई नचाहिने भन्दै नमस्कार गरेका थिए ।
राजेश हमाल, करिष्मा मानन्धर, निरूता सिंह, रेखा थापा, आर्यन सिग्देल, नम्रता श्रेष्ठ गरी झन्डै एक सय कलाकार तथा प्राबिधिक र पत्रकार सहभागी हुने मलेसियाको नेफ्टा अवार्डमा जीवन, सञ्चिता, प्रियंका र निशा पक्कै मिस हुनेछन् । नेफ्टा अवार्डको अन्तिम तयारी भैरहेको छ । नेफ्टामा बरिष्ठ अभिनेता निर शाहलाई बिशेष सम्मान गरिंदै छ भने चर्चित कलाकारहरूले आफ्नो प्रस्तुती दिनेछन् ।

