नेपाल चलचित्र निर्देशक समाजमा ‘सिनेमा लाइब्रेरी’ स्थापना हुने भएको छ । समाजको डिल्लीबजार कार्यालयमा ‘सिनेमा लाइब्रेरी’ को स्थापना गरिने अध्यक्ष दिनेश डिसीले एक औपचारिक कार्यक्रममा जानकारी गराए ।
‘फिटकिरी’ फिल्मको अडियो एल्बमबाट ‘सिनेमा लाइब्रेरी’को शुरूवात गर्ने जानकारी दिदैं अध्यक्ष डिसीले भने- ‘एउटै थलोमा नेपाली फिल्मको संकलन होस् भनेर लाइब्रेरीको सुरुवात गरेका हौं ।’ गत साताबाट ‘सिनेमा क्लब’ सञ्चालनमा ल्याएका अध्यक्ष डिसीले पहिलो नेपाली फिल्मदेखि हालसम्म निर्माण भएका फिल्महरु लाइब्रेरीमा राखिने बताए ।
पहिलो नेपाली फिल्म ‘आमा’ कि ‘सत्य हरिषचन्द्र’ ? भन्ने विवादको अनुसन्धान सकिएपछि फिल्मलाई लाइब्रेरीमा राख्न सुरु गरिने अध्यक्ष डिसीले बताए । उनले भने- ‘लाइब्रेरीमा फिल्मसँगै कलाकारले प्रयोग गर्ने पुराना पोशाक, पूराना क्यामेरा तथा स्क्रिप्टलाई पनि राखिनेछ ।’ ‘सिनेमा लाइब्रेरी’ लाई समाजको भावी कार्यसमितिले पनि निरञ्तरता देला ? यसको उपयोगी निरञ्तरतामा भर पर्नेछ ।

