फिल्मको क्यारेक्टरमा ढाल्न अभिनेता सौगात मल्ल के-के मात्रै गर्दैनन् ? ‘मुखौटा’ फिल्मको लागि सौगातले ओठ र आँखा माथि छेडेका छन् । कानमा मुन्द्रा लगाएका छन् । फिल्मकै लागि सौगाले आफ्नो ५ केजी तौल घटाएका छन् ।

अर्पण थापाको निर्देशनमा हाल ‘मुखौटा’ को छायाँकन भैरहेको छ । ‘मुखौटा’ को सुटिङबाट सिधै ‘फिटकिरी’ फिल्मको प्रेसमिटमा आएका सौगातलाई आफ्नो फरक लुक लुकाउन हम्मेहम्मे नै पर्यो । कपाल देखिने डरले सौगातले टोपी लगाए । हातमा के भएको थियो कुन्नि ? पञ्जा थियो । ‘फिटकिरी’ फिल्म बारे कमै बोलेका सौगातले आफ्नो गेटअप बारे भने केही पनि बोलेनन् ।
सधैं साधारण भएर हिड्ने सौगातको घाँटीमा सुनको सिक्री टलक्क टल्केको थियो । सुनको सिक्रीसँगै सौगातको घाँटीमा सानो घाऊ थियो । कसरी भयो ? सौगातले गाह्रो मान्दै भने- ‘आफैंले चुरोटले पोलेको ।’ किन ? सौगातको उत्तर छ- ‘फिल्मको क्यारेक्टर नै त्यस्तै छ ।’
लुकाउन खोजेको सौगातको हेयर स्टाईल केहि दिन अगाडी मात्र सार्वजनिक भयो । तथापी सौगात बिगत केहि सातादेखि कपालको गेटअप लुकाउँदै आएका छन् । तर उनले अनुहारको गेटअप भने लुक्न सकेन । कपाल लुकाए पनि अनुहार लुकाउन नसक्दा उनको गेटअप कस्तो होला ? अनुमान लगाउन सकिन्छ । त्यसैले गेटअप लुकाउने नै हो भने अनुहार पनि छोप्ने कि !

