Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.17/5.00)
Text size:-
+
-

नाफामा कमेडी फिल्म । लगानी उठाउने दौडामा `बितेका पल`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/19

फिल्मद्धय ‘छ एकान छ’ र ‘बितेका पल’ प्रदर्शनको दोस्रो हप्ता सार्वजनिक बिदाको दिन शनिबार हलमा हाउसफुल दर्शक पाएका छन् । शनिबार परेको छिटपुट वर्षाको असर कुनै पनि हलमा देखिएन ।

 

देशका ७० वटा पर्दामा प्रदर्शन भैरहेको कमेडी फिल्म ‘छ एकान छ’ ले राजधानीमा उच्च कलेक्सन गरिरहेको छ भने प्रेम कहानीको फिल्म ‘बितेका पल’को व्यापार पूर्वका स्टेशनमा उच्च रहेको निर्माता राजेश घतानीले जानकारी दिएका छन् । प्रचार सहित ६० लाख निर्माण लागत भएको फिल्म ‘छ एकान छ’ ले दोस्रो हप्ता नाफाको व्यापार गरिहेको निर्माता दिपकराज गिरीले बताए ।

 

दिपकसँगै दिपाश्री निरौला र निर्मल शर्माको संयुक्त लगानी रहेको यस फिल्मले दोस्रो सातामा दुई करोड माथिको ग्रस कलेक्सन गरिहेको रिपोर्ट छ । कमेडी फिल्मका निर्देशक दिनेश डिसी हुन् । नेपाली फिल्म प्रायः प्रदर्शन नहुने विराटनगरको ‘हिमालयन टाकिज’ हलमा शुक्रबार र शनिबार ‘छ एकान छ’ ले हाउसफुलको व्यापार गरेको । ७ सय सिट क्षमताको उक्त हलमा कमेडी फिल्मले दिनको दुई शो पाएको छ । वोर्डरको ‘जोगवनी’ हलमा पनि ‘छ एकान छ’ को व्यापार राम्रो रहेको फिल्मका प्रतिनिधी आरपी भट्टराईले फिल्मीखबरलाई बताए ।

 

खराब मौसमका कारण प्लेन नउडेपछि फिल्म प्रचारमा युनिट पूर्व भने पुग्न सकेको छैन । सुरज सुब्बा नाल्बो निर्देशित फिल्म ‘बितेका पल’ दोस्रो सातामा लगानी उठाउने दौडमा छ । ८० लाख निर्माण लागत दाबी गरिएको यस फिल्मको ग्रस कलेक्सन निर्माण युनिटले सार्वजनिक गर्न चाहेको छैन । निर्माता राजेश घतानीले नेपाल प्रदर्शनबाट ८० लाख लगानी उठाउने दाबी गरेका छन् । अमेरिकी क्रिष रिजालको समेत लगानी रहेको फिल्म ‘बितेका पल’ ले अमेरिका र अष्ट्रेलियामा थुप्रै शो सञ्चालन गर्ने अवसर पाएको छ ।

 

त्यस्तै फिल्म प्रचारका लागि 'बितेका पल'का कलाकार अभिनाश गुरुङ पूर्वका स्टेशनमा पुगेका छन् । हिजो शनिबार अभिनाश धरानको गणेश टाकिज हलमा पुगेका थिए । निर्माता घतानीले दर्शकको डिमान्डपछि अभिनाशलाई त्यहाँ ल्याएको बताए । केकी अधिकारी र बाबु बोगटी पूर्व पुगेर फर्किसकेका छन् ।