नेपाली फिल्म क्षेत्रमा थोरै मात्र गीत मेहनत गरेर निर्माण गरिन्छ। मेहनतको रिजल्ट पनि राम्रै आउँछ । फिल्म 'आधी बाटो'को प्रस्तुत सार्वजनिक गीतमा पनि मेहनत गरेको देखिन्छ ।
सबिर श्रेष्ठको निर्देशन रहेको साँगीतिक फिल्म 'आधी बाटो'को 'मायाको डोली' बोलको गीतमा यश कुमार र जेनिशा केसीले हिउँमा बसेर मायाको घर बसाउने भाव व्यक्त गरेका छन् । रमेश त्वायनाले निर्माण गरेको यो फिल्मको सार्वजनिक गीतको शब्द, संगीत तथा स्वर अभिनेता यश कुमारकै रहेको छ । पबित्रा परियारले समेत गीतमा स्वर दिएकी छिन् ।
दोलखाको चरीकोटमा सुटिङ गरिएको गीतको गरियोग्राफी कविराज गहतराजले गरेका हुन् भने बद्री लामिछाने र अर्जुन जिसीको सम्पादन तथा नवराज थापाको छायाँकन रहेको छ । फिल्म जस्तै गीतमा निकै मेहनत गरेकाले रिजल्ट राम्रो आउने आश गरेको निर्देशक श्रेष्ठले फिल्मीखबरलाई बताए । फिल्म यहि चैत्र २८ गते रिलिज हुने तयारीमा छ ।

