फिल्म ‘छ एकान छ’ र ‘बितेका पल’ले हल तथा शो बढाउँदै दोस्रो साताको प्रदर्शन सुरु गरेका छन् । यो शुक्रबार ‘डफर्स’ नामक नेपाली फिल्म प्रदर्शन भएपनि ‘छ एकान छ’ र ‘बितेका पल’को शो तथा पर्दामा कुनै असर परेको छैन ।
सलमान खानको ‘जय होस’ प्रदर्शन हुने जनावरी २४ तारिखसम्म सम्भवतः यी फिल्मले मल्टिप्लेक्स तथा सिङ्गल पर्दामा प्रदर्शनको अवसर पाउनेछन् । कथाकार, कलाकार तथा निर्माता दिपकराज गिरीले राजधानीका मल्टिप्लेक्स पर्दामा ‘छ एकान छ’को शो बढेको जानकारी दिदैं दोस्रो हप्तामा पनि ‘छ एकान छ’ झन्डै ७० पर्दामा प्रदर्शन भैरहेको जानकारी दिए । उनले भने- ‘फिल्मले नाफाको व्यापार गरिरहेको छ ।’ दिनेश डिसी निर्देशित फिल्मको लगानी ६० लाख छ ।
फिल्म ‘बितेका पल’ले पूर्वका पर्दामा बम्परको व्यापार गरिरहेको जानकारी दिदैं निर्माता राजेश घतानीले भने- ‘फिल्म हेर्ने दर्शकको प्रतिक्रियाले ‘बितेका पल’को व्यापार बढिरहेको छ ।’ निर्माता घतानीले फिल्म झन्डै ५० पर्दामा प्रदर्शन भैरहेको बताए । सुरज सुब्बा नाल्बो निर्देशित फिल्म ‘बितेका पल’ नेपालबाट लगानीको चालिस प्रतिशत उठाउने अनुमान छ । ‘बितेका पल’ ले विदेशी मुलुकमा प्रदर्शनको राम्रो अवसर पाएको छ ।

