समाजमा कुप्रथाको रुपमा रही आएको बोक्सी प्रथालाई मुख्य विषय बनाइएको ‘बोक्सी’ फिल्मलाई चितवनस्थित भरतपुरमा देखाइएको छ । यही माघ १ र २ गते चितवनका प्रमुख जिल्ला अधिकारी तथा स्काउटमा आवद्ध बालबालिकालाई ‘बोक्सी’ देखाइएको हो ।
बोक्सी कुप्रथालाई समाजबाट हटाउन फिल्म देखाइएको निर्माता शक्तिबल्लभ घोरासैनीले बताए । निर्माता बल्लभ हाल 'लम्फू' फिल्मको निर्माणमा व्यस्त छन् । गोपालचन्द्र लामिछाने निर्देशित ‘बोक्सी’ लाई २०६६ सालमा नेपाल सरकारले उत्कृष्ट फिल्मको पुरस्कार प्रदान गरेको थियो ।
सामाजिक कुसंस्कारको यस फिल्ममा शंकर लामिछाने, शुभेच्छा थापा, शक्तिवल्लभ घोरासैनी र वाल कलाकारमा राज आचार्यको मुख्य भुमिका रहेको छ । बालकृष्ण समको एकाङ्की नाटकमा आधारीत डेढ घण्टाको फिल्म 'बोक्सी'लाई सार्वजनिक प्रदर्शन भने गरिएको छैन । पपुलर मल्टिमिडियाको व्यानरमा निर्मित फिल्म बोक्सीमा विकाश गुरुङको संगित रहेको छ ।

