Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

`राजेश हमालको कपी गर्दा डुबें` : निर्मल शर्मा `गैंडा`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/16

सानो पर्दाको हाँस्य टेलिफिल्म ‘तीतो सत्य’ले निर्मल शर्मालाई ‘गैंडा’ को रुपमा परिचित गराएको छ । वजनदार शरीरका धनी निर्मल पाँच नेपाली फिल्मका निर्माता समेत हुन् । तर, असफल निर्माता ।

 

निर्मलले सहकार्य गरेर निर्माण गरेका पाँच वटा फिल्मले लगानी डुबाएका छन् । पाँच फिल्मबाट घाटा बेहोरेका निर्मलले छैटौं फिल्म ‘छ एकान छ’ बाट भने लगानी उठाएर केही लाख नाफा कमाउने निश्चित भएको छ । दिपकराज गिरी र दीपाश्री निर्रौलासँग सहकार्य गरेर निर्माण गरेको ‘छ एकान छ’ फिल्मले देशका पर्दामा दर्शक तानिरहेको छ । 'छ एकान छ'को नाफा तीनै जनालाई बराबर बाँडिनेछ ।

 

'छ एकान छ' अघि नायक सुधांशु जोशीसँग मिलेर निर्माण गरेको ‘नेपाल’ फिल्मबाट निर्मलले ठुलै घाटा बेहोरे । अमेरिकामा सुटिङ गरेकाले 'नेपाल' फिल्ममा उनको लगानी महंगो हुन गएको थियो । पाँच वटै फिल्मबाट घाटा कसरी भयो ? निर्मलले भने- ‘म नयाँ मेकर थिएँ । फिल्म निर्माणको कुनै ज्ञान थिएन । हामी असल भन्दा पनि सफल फिल्म निर्माण गर्ने दौडमा थियौं । सफल फिल्म बनाउन खोज्दा असफल भयौं ।’

 

घाटा खाएको अर्को फिल्म ‘अंगरक्षक’ गर्दाको रमाइलो किस्सा समेत निर्मलले सुनाए- ‘राजेश हमालको 'अर्जुन' फिल्म खुबै चलेको थियो । 'अंगरक्षक' चल्छ भनेर राजेश हमाललाई अर्जुनकै गेटअपमा प्रस्तुत गर्यौं । फिल्म भयंकर चल्छ भनेर प्रोमो पनि उस्तै काट्यौं । फिल्म हलमा आउँदा फल्प बन्यो । पछि लाग्यो राजेश हमालको कपी गर्दा फल्प भयौं ।’

 

छैटौं फिल्म चल्यो, खुसी हुनुहुन्छ नि ! निर्मलको जवाफ छ- 'म खुसी कम चिन्तित बढी छु । ‘लुट’को कपी गर्दा धेरै निर्माताको खल्ती रित्तिएको छ । कमेडी फिल्मको कपी गरेर अरु निर्माता घाटामा नजाउन् भन्ने मेरो चिन्तन हो ।’ ‘जलन’, ‘आमाको माया’, ‘जेठो कान्छो’ फिल्मबाट घाटा बेहोरेका निर्मलको सुझाव छ- ‘फिल्म निर्माणमा जस्तै प्रचारमा पनि मेहनत गर्नुस् । असल फिल्म प्रचार गरे मात्रै सफल हुन्छ ।’

 

छैठौं फिल्मबाट सफलता पाउनुको कारण खोल्दै निर्मल भन्छन्- 'सहि प्रचारप्रसार सहित राम्रो कथाबस्तुमा राम्रो प्रस्तुती र टिमवर्क राम्रो भएमा फिल्म चल्ने रहेछ । यस्तै दर्शकलाई नयाँ स्वाद चखाउन सके र फिल्ममा नेपाली पन दिन सके सफलताको स्वाद चाख्न पाईन्छ ।' निर्मलले ‘चकलेट’ नामक फिल्म निर्देशन गर्ने तयारी गर्दैछन् । हेरौं, निर्मल यो फिल्मबाट सफल हुन्छन् या हुँदैनन् ?