हाँस्य कलाकारले असफलता पछि सफलताको स्वाद चाखेका छन् । हाँस्य कलाकार दिपकराज गिरीलाई मुख्य पात्र बनाइएको ‘सुन्दर मेरो नाम’ फिल्मले निर्मातालाई नाफा दिएन । तर, तिनै दिपकले कथा लेखेको एवं अभिनय गरेको फिल्म ‘छ एकान छ’ले भने हलमा उधुम मच्याइरहेको छ ।
फिल्म ‘लुट’को ब्लकवस्टर व्यापारले निर्मातालाई फाइदा मात्रै दिएन, निर्देशक निश्चल बस्नेतले पहिलो फिल्मबाटै ‘वाही वाही’ कमाए । निश्चल एकाएक सेलिव्रेटी बने । निश्चलसँगै कलाकार सौगात मल्ल, दयाहाङ राई, महेश शाक्य ‘कर्म’ जस्ता थिएटर कलाकरलाई फिचर फिल्ममा अभिनय गर्ने गतिलो अवसर मिल्यो । सौगात र दयाहाङ निर्माता तथा निर्देशकको पहिलो रोजाइमा पर्न थाले ।
थिएटरका कलाकारलाई लिएर फिल्म निर्माण गर्ने ट्रेन्ड बढ्दा ‘मेन स्ट्रिम’का कलाकारले केही समय त विश्राम नै गर्नुपर्यो । यद्पी उनीहरु चलेपनि फिल्म भने चलेन । ‘लुट’ जस्तै थिएटरका कलाकारले अभिनय गरेका अन्य फिल्म व्यापारिक रुपमा सफल भएनन् ।
तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानीका कलाकारले अभिनय गरेको यस फिल्मले प्रदर्शन भएको ६ दिनमै करिब ६० लाखको लगानी उठाएर नाफाको व्यापार गरिरहेको छ । ‘सुन्दर मेरो’ नाम पछि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको ‘हाँसिदेऊ एकफेर’ नामक फिल्म सुपर फल्प बन्यो ।
दिनेश डिसी निर्देशित ‘छ एकान छ’ ले पनि ‘सुन्दर मेरो नाम’ र ‘हाँसिदेऊ एकफेर’ कै नियती त भोग्नु पर्ने हैन ? फिल्म प्रदर्शनपूर्व यस्ता खाले टिप्पणी नभएका भने हैनन् । तर, निर्माण युनिटको आक्रमक प्रचार शैली र हलमा फिल्म हेर्ने दर्शकको राम्रो प्रतिक्रियाले 'छ एकान छ' हेर्ने हलमा दर्शकको लाइन लामै लाग्यो ।
सफलताको स्वाद चाख्दै गर्दा निर्माता समेत रहेका दिपकले बर्षमा एउटा फिल्म निर्माण गर्ने समेत बताएका छन् । दिपकले आगामी दिनमा कमेडी फिल्म नै बनाउलान् ? यदि बनाए भने कमेडी फिल्म चल्ला ? कि अबका दिनमा कमेडी कलाकार नै चल्छन् ? हाँस्य कलाकारको फिल्म ‘छ एकान छ' चल्नु र लगातार थिएटरका कलाकारको फिल्मले व्यापारिक असफलता हात पार्नुले कतै हाँस्य कलाकारको दिन फर्किएको त हैन ? फिल्म नगरीमा विश्लेषण हुँदैछ ।

