माघेसंक्रान्ती भन्ने बित्तिकै हलमा दर्शकको ठेलमठेल हुन्छ । अझ हलमा प्रदर्शनरत फिल्मका कलाकारको प्रत्यक्ष उपस्थिती हुँदा दर्शकको चाप कस्तो होला ? गत शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको फिल्म 'बितेका पल' र उक्त फिल्मका कलाकारलाई हेर्न पूर्वमा दर्शक अप्रत्यासित रूपमा ओईरिए ।
माघेसंक्रान्तीको अवसर पारेर आज बुधबार फिल्मका मुख्य दुई पात्र केकी अधिकारी र बाबु बोगटीको साथमा निर्माता राजेश घतानी पूर्वका हलमा दर्शकसँगै बसेर फिल्म हेर्न र प्रतिक्रिया लिन पुगे । रिलिजको दिनबाट नै पूर्वमा दर्शकको उत्साहजनक साथ र प्रतिक्रिया पाइरहेको फिल्म 'बितेका पल'का कलाकार हलमा उपस्थित हुँदा दर्शकको मन निकै खुसी देखियो ।
फिल्मको टोली दर्शक प्रतिक्रिया बुझ्नको लागि बिर्तामोडको अन्नपुर्ण टाकिज, दमकको दमक चित्र मन्दिर, बिराटचोकको सुकुना चित्र मन्दिर र धरानको गणेश टाकिज पुगेको थियो । एउटा स्टेसन भ्याएर अर्को स्टेसन चाडै पुग्नु पर्ने दौडधुप र थकानका बीच दर्शकको उल्लेख्य साथ र हौसलाले सबै दु:ख बिर्साईदिएको अभिनेत्री केकीको कथन थियो । दर्शकका माझमा रहेर फिल्म हेरेकी केकीले दर्शकको सकारात्मक प्रतिक्रिया पाएर माघेसंक्रान्ती मनाउन पाउँदा निकै खुसी लागेको बताईन् ।
हलबाट निस्किने दर्शकले केकीको अभिनयको तारिफ गर्दै आँखाबाट आँसु झार्न बाध्य बनाएको प्रतिक्रिया दिएका थिए । उता बाबु बोगटी समेत आफ्ना फ्यान माझ घेरिएर फिल्म र आफ्नो अभिनयको प्रसंशा पाउदा मक्ख देखिन्थे । नेपालभर नै फिल्मको कलेक्सन दिन प्रतिदिन बढेको बताउदै पूर्वेली भएको नाताले आफुलाई यो पल्ट पनि पूर्वबाट पाएको साथ र मायाले बेग्लै उर्जा प्रदान गरेको निर्माता राजेश घतानीले बताए ।

.jpg)
.jpg)
.jpg)

