निर्देशक शोभित बस्नेत रजतपटमा ‘फास्ट कट’ निर्देशकका रुपमा परिचित छन् । उनको एउटा फिल्म खिच्ने समय तालिका घटिमा १८ देखि बढिमा ३५ दिन हुन आउँछ । ‘फास्ट कट’ निर्देशक बस्नेतले करिअरको २८ औं फिल्म भने ९० दिन लगाएर खिच्ने भएका छन् ।
नेपाली निर्देशक शोभितले हिन्दी भाषाको फिल्म निर्देशन गर्ने छन् जसको सुटिङ तालिका ९० दिन राखिएको छ । शोभितले हिन्दी फिल्म ‘मेँ वो नही’ को निर्देशन गर्ने । एक औपचारिक समारोहको आयोजना गर्दै बस्नेतले हिन्दी भाषाको फिल्म निर्देशन गर्न लागेको औपचारिक जानकारी गराए । तमिल फिल्मको रिकेम गर्न लागिएको यो फिल्ममा साउथ इन्डियाका चर्चित कलाकार तथा केही नेपाली कलाकारको अभिनय रहनेछ ।
नयाँ बानेश्वरको एभरेष्ट होटलमा आयोजना गरिएको प्रेसमिटमा कलाकारको नाम भने गोप्य नै राखियो । सस्पेन्स स्टोरीमा आधारित भनिएको यस फिल्मका मुख्य पात्र छ जना हिरोइन र एक जना हिरो हुनेछन् । लुविना इन्फरमेशन प्रालिको लगानी रहने यस फिल्मको छायाँकन काठमाडौं, देहरादुन, दुबई, मरिसस, लण्डन लगायतका शहरमा हुने जानकारी छ ।


प्रेस सारोहमा निर्देशक बस्नेतले आफ्नो फ्ल्यास ब्याक पल्टाए । नाटक, भिडियो फिल्म तथा टेलिफिल्म हुँदै वि.सं. २०५१ सालमा पहिलो फिचर फिल्म ‘राजकुमार’ निर्देशक गरेका निर्देशक शोभितले सम्झिए- ‘सुरुमा यो फुच्चेले पनि फिल्म निर्देशन गर्छ र ? भनेर मलाई अग्रज फिल्मकर्मीले होच्याउने गर्थे । मलाई होच्याउने आज कहाँ पुगे, अहिलेसम्म म फिल्म निर्देशन गर्दैछु ।’
.jpg)

आफ्नो कार्यप्रति गर्व गर्दै शोभितले थपे- ‘यो हिन्दी फिल्म बागबजारमा नम्किन र समोसा खाएर बनाउने निर्णय गरेको होइन । डेढ महिनाको अभ्यासबाट यो निर्णय गरिएको हो ।’ यस्तै उनले आफू अहिलेसम्म भारतसम्म मात्र पुगेको भन्दै बिभिन्न देशमा पुगेर सुटिङ गर्न पाउँदा खुसी लागेको बताए ।
निर्देशक शोभितले फिल्मको सुटिङ जनावरीको अन्तिम साताबाट सुरु हुने जानकारी गराए । फिल्मको लगानी दश करोड दाबी गरिएको छ । कार्यक्रममा निर्देशक बस्नेतका गुरु निर्देशक सुर्य बोहोरा लगायत फिल्म सम्वद्ध संघ संस्थाको प्रतिनिधिले निर्देशक बस्नेतलाई सफलताको शुभकामना दिए ।

