‘लुट’ फिल्ममा समावेश ‘उध्रेको चोली’ आइटम गीत सर्वाधिक हिट बन्यो । सुष्मा कार्कीले कम्मर मर्काएको उक्त गीतको प्रत्यक्ष प्रभाव फिल्मको व्यापारमा देखियो ।
फिल्मको व्यापार ब्लकबस्टर गराउने उद्धेश्यले पछिल्ला केही फिल्मकर्मीले आइटम गीतलाई फिल्ममा अपरिहार्यको रुपमा लिएको पाइएको छ । आइटम गीत समावेश फिल्म कति चले ? सम्भवतः ‘लुट’ पछि आइटम गीत समावेश कुनै पनि फिल्मको व्यापार उल्लेख्य रहेको छैन ।
‘लुट’ कै निर्देशक निश्चल बस्नेत आफ्नो दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ का लागि आइटम गर्लको खोजीमा छन् । निश्चलको दोस्रो फिल्म ‘लुट’ को जस्तै आइटम गीत चलेर व्यापारलाई प्रभाव पार्ला ? ‘लुट’ कै थिमलाई पछ्याइएको ‘लुट कम्पनी’ नामक फिल्ममा पनि ‘रेखाको जवानी’ बोलको आइटम गीत राखियो । न त उक्त आइटम गीत चल्यो न फिल्म नै ।
अभिनेत्री रेखा थापाले ‘मेरो एउटा साथी छ’ फिल्ममा ‘मेरो आँखाको गाजल’ बोलको आइटम गीतमा कम्मर मर्काइन । रेखाको सेक्सी आइटमले बजार पिट्न भने सकेन । फिल्म पनि हिट भएन । ‘उध्रेको चोली’ आइटम गर्ल सुष्मा कार्कीले ‘जिन्दगानी दर्पण छाँया’, ‘नोटवुक’, ‘राजनीति’, 'बाउन्सर' जस्ता फिल्मका आइटम गीतमा कम्मर मर्काइन् । सुष्माका यी आइटम नम्वर त चलेनन् नै फिल्म पनि चलेनन् । ‘गाला रातै हिट’ भएपछि ‘नोटवुक’ को आइटम गीत त फिल्म युनिटले प्रचारमै ल्याउन चाहेन ।
अभिनेत्री करिश्मा मानान्धरले सेक्सी फिल्म ‘नाइन ओ क्लक’ मा आइटम प्रस्तुत गरिन् । करिश्माको उक्त आइटमले खासै चर्चा पाएन । करिश्माले उल्टै आइटममा नाचेको भन्दै अग्रज फिल्मकर्मीबाट खप्की खानुपर्यो । ‘ढुवानी’ फिल्ममा समावेश ‘छलक छलक..’ बोलको आइटम गीत राम्रैसँग चल्यो । तर, ढुवानी हल पुग्दा चलेन । फिल्म घाटामा गयो ।
सञ्चारकर्मी डब्बु क्षेत्रीले निर्देशन गरेको फिल्म ‘राहदानी’ मा पनि अभिनेत्री रिमा विश्वकर्माको आइटम नम्वरलाई देख्न सकिनेछ । आइटमले फिल्मको व्यापारलाई कत्तिको प्रभाव पार्छ ? हेर्न बाँकी छ । यस्तै सुटिङमा नै हिट भएको 'हँसिया' फिल्मको आइटम गीतमा प्रियंका कार्की र हेमा श्रेष्ठले कम्मर मर्काएका छन् । एक्सन फिल्मको एक्सन आइटम गीतले रिलिज पश्चात कस्तो चर्चा पाउला ? प्रतिक्षा गर्नै पर्छ ।
समग्रमा आइटमले फिल्म चलेको कमै उदाहरण छन् । यद्पी फिल्ममा आइटम नम्वर राख्ने चलन भने बढ्दै गएको छ । आइटम प्रथाले दर्शक तान्नु भन्दा पनि निर्माताको लगानी मात्रै बढाएको विश्लेषण हुन थालेको छ । नेपाली फिल्ममा आइटम केका लागि ?

