यतिखेर फिल्म बजार कमेडी फिल्मको पक्षमा देखिएको छ । प्रदर्शनरत कमेडी फिल्म ‘छ एकान छ’को सुखद व्यापारले अन्य कमेडी फिल्मको व्यापार पनि राम्रो हुने सम्भावनाको ढोका खोलिदिएको छ ।
प्रदर्शनको क्रममा रहेका ‘प्रोड्यूसर’ र ‘झोले’ दुवै कमेडी फिल्म हुन् । जनकदीप पराजुली निर्देशित फिल्म ‘प्रोड्यूसर’ लाइट कमेडीमा आधारित छ । माघ १७ गते प्रदर्शन हुने यस फिल्ममा विल्सन विक्रम राई, बाबु वोगटी, श्याम अर्याल, स्वेता भट्टराई, पायल रायमाझी र श्याम राई मुख्य भूमिकामा प्रस्तुत भएका छन् । फिल्मका निर्माता ज्योतीराज राई र राजकुमार राई हुन् । फिल्मको हाल देश तथा विदेशमा च्यारेटी चलिरहेको छ ।
दिपेन्द्र के. खनाल निर्देशित ‘झोले’ डार्क कमेडी फिल्म हो । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की र ए.गुरुङ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । ‘झोले’ को दोस्रो ट्रेलर यतिखेर हिट भैरहेको छ । टेकेन खड्का निर्मित 'झोले' फागुन ९ गते प्रदर्शन हुँदैछ ।
कमेडी कलाकारको वर्चस्व रहेको कमेडी फिल्म ‘छ एकान छ’ सफल भयो भन्दैमा अन्य कमेडी फिल्म चल्छन् भनेर ठोकुवा गर्न नसकिएपनि आश भने गरिएको छ । फिल्मको मेकिङ र कन्टेन्ट बलियो भएको खण्डमा यि दुई फिल्मले पनि सफलताको स्वाद चाख्न सक्छन् । जे होस्, ‘लुट’ चल्यो भनेर लुटको थिमलाई पछ्याइएका धेरै फिल्मको हालत कमेडी फिल्म ‘प्रोड्युसर’ र ‘झोले’ले बेहोर्नु नपरोस् । सफलताको शुभकामना !

