नेपाली फिल्म बजार पनि गजबको छ । कहिले देशभरका हलमा फिल्म चलाउन तछाड मछाड हुन्छ भने कहिले हलमा फिल्मको खडेरी नै पर्छ । सार्वजनिक बिदा तथा चाडपर्वमा निर्माता तथा वितरकबिच फिल्म प्रदर्शन गर्न जुहारी चलेपनि अन्य शुक्रबार भने हलमा प्रदर्शन गर्नेको अभाव हुँदै गएको हलवाला तथा वितरकले गुनासो पोखेका छन् ।
दशैं पश्चात हलमा प्रायः सोलो रुपमा फिल्म प्रदर्शन भैरहेका छन् । दोस्रो संविधानसभा निर्वाचन ताका हलमा फिल्म नै प्रदर्शन भएनन् । दशैं पश्चात पुस २६ मा मात्रै चार नेपाली फिल्मबिच प्रतिस्पर्धा भयो । पुसको अन्तिम साता ‘डफर्स’ नामक फिल्म प्रदर्शन हुँदैछ । गुपचुमै प्रदर्शन गर्न लागिएको यो फिल्म सिमित पर्दामा मात्रै प्रदर्शन हुनेछ ।
सानो बजेटको फिल्म प्रदर्शन हुने भएपछि गत साता प्रदर्शन भएका ‘छ एकान छ’ र ‘बितेका पल’ फिल्मलाई चिठ्ठा पर्ने देखिएको छ । यी फिल्मको हल संख्या दोस्रो सातामा पनि नघट्ने देखिन्छ । 'छ एकान छ' सफलताका साथ प्रदर्शन भईरहे पनि अन्य फिल्मलाई भने लगानी उठाउन धौ-धौ पर्ने देखिएको छ ।
पुस २६ पछि एकैपटक नेपाली नयाँ वर्षमा फिल्महरुबिच भाले भिडन्त हुँदैछ । ‘नाइ नभन्नु २’, ‘आधी बाटो’, ‘टलकजंग भर्सेस टुल्के’ र ‘मनले मनलाई छुन्छ’ प्रदर्शनको मैदानमा उत्रिदैंछन् । गत शुक्रबार चार फिल्म जुधेर निर्माताले बेहोर्नु परेको घाटा चैत्र २८ गते पनि दोहोरिने पक्का छ ।

