Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 2.43/5.00)
Text size:-
+
-

यसकारण चले `होस्टेल`, `काली` र `छ एकान छ`

फिल्मीखबर, काठमाण्डौ, 2014/01/14

बर्ष २०७० पुसको अन्तिम सातासम्म आइपुग्दा तीन नेपाली फिल्मले लगानी उठाउने निश्चित भएको छ । दुर्गिस व्यानरको ‘होस्टेल’ र रेखा थापाको ‘काली’ फिल्म प्रदर्शन भएर लगानी उठाउन सफल भैसकेका छन् भने हाँस्य कलाकारको फिल्म ‘छ एकान छ’ प्रदर्शनरत छ । जुन फिल्मले केही दिनको व्यापारबाट लगानी उठाउने पक्का भएको छ ।

 

प्रदर्शन भएका दर्जनौं फिल्म मध्ये यी तीनले मात्रै कसरी व्यापारिक सफलता हात पारे ? यो बर्षको अन्त्यसम्म अन्य फिल्म पनि सफल हुने विश्वास छ । पहिलो फिल्म ‘सायद’बाट लगानी उठाउन सफल दुर्गिस व्यानरलाई दोस्रो फिल्म ‘होस्टेल’बाट घाटा नबेहोर्नु पर्ने चुनौती थियो । युवापुस्तालाई लक्षित गरी फिल्ममा समावेश गरिएको संवाद नै चुनौतीलाई सफलसँग पार गर्ने प्रमुख हतियार बन्यो ।

 

‘केटी भनेको त क्युट हुनुपर्छ, हट त उसीनेको आलु पनि हुन्छ’ जस्ता संवाद फिल्म रिलिज पुर्व हिट भैसकेका थिए । फिल्म युनिटले चलाएको कलेज क्याम्पियन पनि दर्शकलाई हलसम्म तान्ने अर्को हतियार बन्यो । अभिनेता भुवन केसीको पुत्र अनमोल केसी सहितका नव प्रवेशी अनुहारले पनि युवा दर्शकलाई हलसम्म तान्न सहयोग गरे ।

 

होम प्रोडक्सनबाट निर्माण भएका अभिनेत्री रेखा थापाका सबैजसो फिल्म व्यापारिक रुपमा सफल छन् । दशैंको मुखमा रिलिज भएको फिल्म ‘काली’ ले भने अघिका होम प्रोडक्सनका फिल्म भन्दा राम्रो व्यापार गर्यो । किन गर्यो ? बसन्त सापकोटाद्धारा संगीतबद्ध ‘स्लोली स्लोली...’ बोलको गीत नै दर्शक हलसम्म आउने प्रमुख कारक बन्यो ।

 

प्रोमोमा समावेश ‘एरिया त कुकुरको हुन्छ, बाघको हैन’ र ‘यो बर्दी तपाईकी श्रीमतीको पेटिकोट हैन, जतिबेला मन लाग्यो त्यतिबेला खाल्ने’ जस्ता संवादले ‘काली’ हेर्न दर्शक हलसम्म ओइरिए । अर्कोतर्फ रेखा थापालाई मन पराउने एक जमातको उपस्थितिले पनि ‘काली’ व्यापारिक रुपमा सफल भएको एकथरीको विश्लेषण छ ।

 

प्रदर्शनरत फिल्म ‘छ एकान छ’ को शोहरु हाउसफुल रहनुको प्रमुख कारण बन्यो आक्रमक प्रचार शैली । कमेडी फिल्मको प्रचार कहाँसम्म भएन ? सडकदेखि हल, टेलिभिजनदेखि राष्ट्रिय दैनिक पत्रिकाका होम पेज तथा इन्टरनेट सबैतिर ‘छ एकान छ’ छायो ।

 

साप्ताहिक टेलिश्रृङ्खला तीतो सत्य, मेरी बास्सै, जिरे खुर्सानीदेखि मेला महोत्सव र विभिन्न कार्यक्रममा हाँस्य कलाकारले फिल्मको नाम भन्न छुटाएनन् । आक्रमक प्रचार शैलीले गर्दा नियमित नेपाली फिल्म नहेर्ने दर्शकलाई पनि फिल्मप्रति एक खालको उत्सुकता जन्माइदियो । जसले गर्दा सिङ्गल मात्रै हैन सुबिधा सम्पन्न हलमा समेत ‘छ एकान छ’ हेर्न दर्शक ओइरिए ।

 

फिल्म हलमा लगाएर मात्रै चल्दैन । फिल्म चल्न आकर्षक गीत तथा संवाद र आक्रमक प्रचार शैली आवश्यक छ भन्ने कुराको सन्देश तीन फिल्मले दिएका छन् । साथमा दर्शकको भिडलाई फिल्म मन पर्ने हुनुपर्छ भन्ने सन्देश पनि ‘होस्टेल’, ‘काली’ र ‘छ एकान छ’ ले दिएका छन् । आक्रमक प्रचार भएर पनि दर्शकलाई नपच्ने फिल्मको हालत कस्तो हुन्छ ? ‘छड्के’ले देखाइसकेको छ ।