एउटा नेपाली फिल्म खिच्न कति समय लाग्ला ? सामान्यतया एउटा नेपाली फिल्म खिच्ने अवधी ३५ देखि ४० दिनसम्म लाग्ने गरेको पाइन्छ । एकाध फिल्मले ९० दिन लगाएर पनि सुटिङ सक्ने गरेका छन् । तर, फिल्मीखबरले एउटा यस्तो फिल्म फेला परेको छ जसको सुटिङ अवधी निकै लामो हुन आएको छ ।

फिल्म सुटिङ सुरु भएको कति समय भयो ? भन्ने प्रश्नको जवाफ निर्देशक प्रनय लिम्बुले यस्तो दिए जुन आश्चर्य लाग्नु स्वभाविक थियो । ‘द स्पोन्सर’ नामक फिल्म निर्माण गर्दै गरेका निर्देशक लिम्बुले आफु विगत डेढ बर्षदेखि एउटै फिल्मको सुटिङमा व्यस्त रहेको सुनाए ।
लिम्बुले फिल्मको सुटिङ लम्बिनुको कारण बारे खुलाए- ‘बर्षा, गर्मी र जाडो सिजनलाई छल्दा सुटिङ लम्बिन पुग्यो ।’ फिल्मको सुटिङ यसै साता सकिने समेत उनले जानकारी दिए ।
फिल्मको पुरै सुटिङ पूर्वी क्षेत्रमा गरिएको छ । रुद्र बहादुर गुरुङले निर्माण गरिरहेको फिल्ममा सबै नयाँ कलाकार छन् । निर्देशक लिम्वुले छायाँकन सकिएपछि प्रेसमिट गरेर फिल्मबारे थप जानकारी दिने बताए ।

