फिल्म सुटिङ सकिएर पोस्टप्रोडक्सनमा रहँदा पनि निर्माताको नाम गोप्य राखिनुलाई आश्चर्य मान्न सकिन्छ । कारण, नेपाली रजतपटमा फिल्म निर्माण गर्न छोडेर काम भन्दा नाम खोज्नेको जमात बढी छ । फिल्म चलेर दाम नआएपछि नाम खोज्नु स्वाभाविक हो तर काम अनुसारको नाम खोज्नुको पो अर्थ त !
प्रसङ्ग हो फिल्म 'नाइ नभन्नु ल २`को । विकास आचार्य निर्देशित यो लभ स्टोरी फिल्मका निर्माताको नाम अहिलेसम्म गोप्य राखिएको थियो । फिल्मीखबरले पाएको जानकारी अनुसार यसअघि 'म तिम्रो भैइसकें' र 'रिदम' निर्माण गरेको कम्पनी वान टाईम सिनेमा प्रालीसँग सहकार्य गरेर अष्ट्रेलियाको एञ्जल मुभिजले फिल्म निर्माणमा सहकार्य गरेको छ । यो कम्पनीका सञ्चाकल दिनेश पोखरेल हुन् ।

अभिनेता जीवन लुईटेलको साथमा निर्माता दिनेश पोखरेल
हाल बन्द अवस्थामा रहेको झापाको सुरूङ्गास्थित एञ्जल चित्र मन्दिरको सञ्चालन तथा करिब ९ बर्ष अगाडी नेपाली फिल्मको वितरण गर्दै आएका दिनेश हाल अष्ट्रेलियाको सिड्नी शहरमा व्यवसाय गर्छन् । अष्ट्रेलियामा एञ्जल मुभिज नामक कम्पनी खोलेर नेपाली फिल्मको प्रबर्द्धन गर्दै आएका दिनेशले ९ बर्षपछि पुन: नेपाली फिल्ममा सक्रियता देखाएका छन् । बुझ्नमा आएअनुसार दिनेशले अब बर्षको एउटा नेपाली फिल्म निर्माण गर्नेछन् ।
अष्ट्रेलियामा 'नोटबुक' र 'मालतीको भट्टी' फिल्म प्रदर्शन गरिसकेका दिनेशको नाम गोप्य राखिनुको कारण खोल्दै निर्देशक आचार्यले ठट्यौली पारामा भने- 'हामी गोप्य रूपले नै काम गर्न रूचाउँछौं ।' फिल्मको प्रचारप्रसार शुरू हुन थालेपछि निर्माताको नाम आउने उनको भनाई छ । दिनेशले कति लगानी गरेका छन् त ? आचार्यले भने- 'मेरो कम्पनी र उहाँको कम्पनीले मिलेर निर्माण गरेको हो । लगानी अहिले गोप्य नै छ ।'
.jpg)
निर्देशक विकास आचार्य
आगामी चैत्र २८ गते रिलिज हुन लागेको जीवन लुईटेल, प्रियंका कार्की, सुरजसिंह ठकुरी, सरोज खनाल, सिताराम कट्टेल, अनुभव रेग्मी, सुज्ञानी भट्टराई, बर्षा सिवाकोटी लगायत अभिनित यो फिल्मको निर्माण कम्पनी वान टाईम सिनेमा प्राली कस्को ? निर्देशक आचार्य भन्छन्- 'यो मेरो कम्पनी हो ।' अन्य निर्माता पनि गोप्य छन् कि ? उनी भन्छन्- 'कति कुरा गोप्य राख्दा नै राम्रो हुन्छ ।'

