फिल्म चल्नु मात्रै पर्छ, फिल्म बजारमा विभिन्न खाले चर्चा, परिचर्चा र टिकाटिप्पणी हुन थाल्छन् । कमेडी फिल्म ‘छ एकान छ’ पनि चल्यो । यससँग जोडिएका रमाइला किस्सा पनि सार्वजनिक हुन थालेका छन् ।

टेलिभिजनका साप्ताहिक हिट हाँस्य टेलिफिल्म तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानीका कलाकार एउटै पर्दामा अटाएकाले ‘छ एकान छ’ ले चर्चा पायो । दिनेश डिसी निर्देशित फिल्मले चर्चा मात्रै पाएन हलमा दर्शक पनि उल्लेख्य रुपमा पाईरहेको छ । हलमा दर्शक पाईरहँदा कलाकार मध्येका एक केदार घिमिरे अर्थात् मेरी बास्सैका माग्ने बुढालाई भने ‘छ एकान छ’ले प्रचारमा पाएन ।
हरेक मेला, महोत्सव, स्टेज कार्यक्रममा ‘छ एकान छ’ का अन्य कलाकार तथा निर्देशक व्यस्त भैरहँदा मेरी बास्सैका माग्ने बुढा भने कहीं कतै देखिएनन् । फिल्ममा महत्वपूर्ण भूमिकामा प्रस्तुत भएका उनी किन प्रचारमा देखिएनन् ? बजारीय हल्लालाई पत्याउने हो भने मेरी बास्सैका माग्ने बुढा सोही टेलिफिल्मका तक्मे बुढा अर्थात विल्सन विक्रम राईको करकापले प्रचारमा हिंडेनन् रे ! पत्याउन मुस्किल परेपनि हल्लाले भन्छ- ‘छ एकान छको प्रचारमा माग्ने बुढालाई तक्मे बुढाले रोक लगाएका छन् ।’
माग्ने र तक्मेको जोडी देश तथा विदेशका कार्यक्रममा व्यस्त छ । सुरुमा विल्सन खेल्ने कुरा भएपनि आन्तरिक विवादले गर्दा ‘छ एकान छ’ मा विल्सन देखिएनन् । 'छ एकान छ'मा विल्सनले गर्ने भनिएको भूमिका सन्दिप क्षेत्रीले निभाएका छन् । माग्ने बुढा ‘छ एकान छ’को प्रचारमा विल्सनको इन आउटले हो या अन्य कारणले हिंडेनन् ? चुरो कुरो उनलाई नै थाहा होला । विल्सनले नहिंड भन्दैमा आफुले अभिनय गरेको फिल्मको प्रचारमा केदार सहभागी नभएर गल्ती गरे या सही ?

