Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

फिल्मकर्मीका सन्तानलाई बिंडो थाम्नै गाह्रो

फिल्मीखबर, काठमाण्डौ, 2014/01/13

रजतपटमा जम्न सजिलो छैन । तर, यो अप्ठ्यारो बाटोमा यात्रा गर्नेको संख्या कम भने छैन । अभिनय क्षेत्रमा आफ्नो स्थान बनाइसकेका फिल्मकर्मीका सन्तानले पनि यो यात्रालाई अगाडी बढाएका छन् । अभिनय क्षेत्रमा फिल्मकर्मीका सन्तानको यात्रा कत्तिको सार्थक रह्यो ? फिल्मीखबरले छोटो चर्चा गरेको छ ।

 

अभिनेत्री सज्जा मैनालीले बाबुको बाटोलाई पछ्याईन् । सज्जाका पिता स्व. गोपालराज मैनाली नेपाली फिल्ममा चङ्खे कलाकारको रुपमा प्रख्यात थिए । सज्जाले झन्डै एक दर्जन फिल्ममा अभिनय गरिन् । सज्जाले बाबुको हिंडेको बाटो त पछ्याईन् तर सफलतालाई भने पछ्याउन सकिनन् । फिल्ममा सफलता हात नपरेपछि सज्जा लगनगाँठो कसेर अमेरिका हानिइन् ।

 

स्व. कलाकार सुशीला रायमाझीले पनि छोरी प्रसिद्धीकालाई आफु हिंडेको पथमा हिडाउन प्रयास नगरेकी हैनन् । तर,प्रसिद्धीकालाई सफल हिरोइन बनाउने सपना सुशीलाको अधुरै रह्यो । दमदार अभिनय क्षमता भएकी चरित्र अभिनेत्री सुशीला रायमाझीको केही वर्ष अगाडी असमायिक निधन भएको थियो । छोरी प्रसिद्धीका रायमाझी कहाँ के गर्दैछिन् ? कुनै पत्तो छैन ।

 

स्व. निर्देशक शिव रेग्मीले पनि छोरी भावनालाई ‘सो सिम्पल’ फिल्म मार्फत अभिनय क्षेत्रमा प्रवेश गराए । फिल्म क्षेत्रमा दर्जन बढी सफल फिल्म दिएका निर्देशक रेग्मी आफ्नै छोरीलाई भने सफल अभिनेत्री बनाउन असफल भए । स्व. रेग्मी निर्देशक ‘सो सिम्पल’ को खराब व्यापारसँगै भावना फिल्ममा फर्कन सकिनन् । यसै फिल्मबाट रजतपटमा डेब्यू गरेका स्क्रिप्ट राईटर प्रदीप भारद्वाजका भाई प्रमोद भारद्वाज पनि असफल कलाकारको कोटीमा पर्न आए ।

 

आफ्ना अभिभावकको पथलाई निरञ्तरता दिएका पछिल्ला पुस्तालाई पनि सफलता हात पार्न हम्मेहम्मे नै परेको देखिन्छ । । निर्देशक नारायण पुरीका पुत्र संयम पुरीको पहिलो फिल्म ‘सायद’ सफल भयो । तर, संयम भने फिल्म चलेको डेढ वर्ष पश्चात दोस्रो फिल्ममा व्यस्त हुँदैछन् । संयमलाई हिट भन्ने कि फल्प ? सदावहार नायक भुवन केसीका पुत्र अनमोल केसीको पहिलो फिल्म ‘होस्टेल’ चल्यो तर अनुमोल फिल्म उत्रिएको लामो समय भैसक्दा पनि अन्य फिल्ममा व्यस्त हुन सकेका छैनन् ।

 

निर्देशक शोभित बस्नेतका पुत्र शलोन बस्नेत, कलाकार टिका पहारीका पुत्र गौरव पहारी, मेकअप आर्टिस्ट बिपना बस्नेतकी पुत्री रिस्ता बस्नेत व्याक टु व्याक फिल्ममा व्यस्त छन् । तर यी कलाकार दर्शकको नजरमा पर्न भने बाँकी नै छ । यता निर्देशक बद्री अधिकारीकी छोरी केकी अधिकारी भने रजतपटमा जमिसकेकी छिन् ।