‘बदनाम होस् तर गुमनाम नहोस्’ भन्ने उखान यतिखेर अभिनेत्री शुभेच्छा थापामा लागू भएको छ । बदनाम नै सही भन्दै शुभेच्छाले चर्चा कमाउन सस्तो हत्कण्डा अपनाएकी छिन् ।
आफ्नै लगानी रहेको फिल्म ‘मिस नेपाल’ को पोस्टरमा उनी टपलेस भइन् । टपलेस र माछाले स्तन छोपेको शुभेच्छाको तस्बिरले नेपाली फिल्मका कलाकार ‘खत्तम’ हुन्छन् भन्ने जनमानसमा सन्देश दिएको छ । जवान छोरीको आमा समेत रहेकी निर्मात्री एवं अभिनेत्रीले नाङ्गो तस्बिर किन खिचाइन् ? यस प्रश्नको जवाफ शुभेच्छा स्वयम्ले दिएकी छिन् ।
शुभेच्छाले आफ्नो फेसबुक वालमा लेखेकी छिन्- ‘हाम्रो नेपाली समाज छोरी चेलीलाई नङ्ग्याउनु हुन्न र नाङ्गो फिल्म बनाउनु हुन्न भन्छ । तर, पुरानो कलाकारलाई किन फिल्म दिन मान्नुहुन्न ?’ उनको यस खालको तर्कले फिल्म नपाएको झोकमा आफू नाङ्गिएको अर्थ लाग्छ । शुभेच्छाले अर्को बेतुके प्रश्न पनि गरेकी छिन्- ‘हलमा एटीएम जस्तो फिल्म चल्दा लाठी चार्ज हुन्छ । अब हामी जस्तो कलाकार कता जाने ? के नाङ्गो फोटो सुट गर्न हामीलाई आउँदैन र ?’
तर, नाङ्गिदैमा हिट भइँदैन भन्ने ज्ञान किन शुभेच्छालाई भएन ? चर्चामा आउन नाङ्गिने कि गतिलो काम गर्ने ? त्यस्तै उनले आफ्नो संस्कारलाई नभुलेको जिकिर गर्दै थपेकी छिन्- ‘मिस नेपालको कथा नै यस्तो छ जुन नाङ्गो फोटो सुट गर्न जरुरी छ । पोस्टरले यो फिल्मको कथा बोल्छ ।’ शुभेच्छाले भने जस्तै मिस नेपाल बन्न नाङ्गिनु नै पर्छ ? यो बिबादास्पद तर्कले बहस सिर्जना गरिदिएको छ ।



