एक ताका गायनमा राज गरेका यश कुमार अहिले भने फिल्ममा जम्ने प्रयासमा छन् । यिनै गायक तथा अभिनेता अमेरिकाको दुई महिने साँगीतिक यात्राबाट फर्किएको भोलिपल्टै फिल्म ‘आधी बाटो’ स्वराङ्कनमा व्यस्त भएका छन् ।

अमेरिकाको बिभिन्न शहरमा आफ्नो साँगीतिक प्रस्तुती दिएका यशलाई 'आधी बाटो' निर्देशक सबिर श्रेष्ठले डबिङका लागि पर्खेका थिए । निर्देशक श्रेष्ठ एक सातामा फिल्मको डबिङ सकिएर मिक्सिङमा जाने बताए ।
'आधी बाटो'का मुख्य कलाकार यश कुमारले अमेरिकाको दर्जन बढी शहरमा आफ्नो प्रस्तुती दिएको जानकारी गराए । किँरात राई एशोसियशन, अन्र्तराष्ट्रिय साहित्य मञ्च र म्युजिक सोसाईटीले आफुलाई सम्मान गरेको समेत उनले जानकारी गराए । यशले आफ्नो साँगीतिक यात्रा सफल रहेको बताए ।
यस्तै उनले 'बाटो मुनिको फूल'को सिक्वेल समेत बनाउने तयारी गरेको बताए । 'बाटो मुनिको फूल'बाटै अभिनेताको रूपमा डेब्यू गरेका यशले फिल्मको बारेमा थप कुरा पछि खुलाउने बताए ।
'आधी बाटो' फिल्ममा यश कुमारको साथमा जेनिशा केसी, सबिन श्रेष्ठ र अनु शाहको मुख्य अभिनय छ । रमेश त्वायना निर्मित यो फिल्म म्युजिकल लभ स्टोरीमा आधारित छ । यो फिल्म आउँदो चैत्र २८ गते रिलिज हुनेछ ।

