शनिबार दिउँसो धरानको मुख्य बजारमै रहेको गणेश टाकिज पुग्दा आँखा भरी आँशु पार्दै दर्शक रुमालले पुछ्दै बाहिर निस्केको देखियो । दर्शकलाई रूवाउने फिल्म अरू कुनै नभएर 'बितेका पल' थियो ।
.jpg)
फिल्म उत्कृष्ट बनेको बताउदै आँसु नखसाल्ने र फिल्मलाई मन नपराउने दर्शक हल परिसरमा कमै मात्रै थिए । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'बितेका पल'ले देशभरका अन्य दर्शकझैं धराने दर्शकको मन पनि जितेको छ । फिल्मको मुटु नै केकी अधिकारी भएको र उनको जीवन्त अभिनयले मन छोएको उपस्थित दर्शकको भनाई थियो । फिल्मको कथा, प्रस्तुतीकरण, संगीत र लोकेसनलाई समेत दर्शकले रुचाएको पाईयो ।
शुक्रबार हार्डडिस्क नआएर शनिबारबाट मात्रै धरानमा प्रदर्शनमा आएको फिल्म हेर्न धेरै पछि हलमा भिड लागेको छ । त्यसो त शुक्रबार पनि फिल्म हेर्न दर्शक ठुलो जमातमा आएको तर फिल्म रिलिज गर्न नपाउदा निरास भएर फर्केको हल म्यानेजर भोलामान श्रेष्ठले बताए । दशैंमा रिलिज भएको फिल्म 'काली' पश्चात सुनसान भएको हलमा 'बितेका पल'ले दर्शकको भिड ल्याएको उनले जानकारी दिए । शनिबार फिल्मको सबै शो हाउसफुल भएको थियो ।
आफ्नै ठाउँका निर्देशक सुरज सुब्बाको कामको तारिफ गर्दै नेपालका नम्बर १ निर्देशकको रुपमा उनलाई दर्शकले ट्याग भिराई दिए । फिल्म हेर्न पुरुष भन्दा पनि महिला दर्शकको उपस्थिति धेरै देखिन्थ्यो । त्यसो त महिला दर्शकलाई फिल्म तर्फ आकर्षण गर्न र भाबुक बनाउन सके फिल्म सफल हुने कथन रहेको छ । जुन प्रसङ्ग फिल्म 'बितेका पल'सँग मिल्न गएको छ ।
धरानसँगै फिल्म यतिबेला पूर्वको दमक, उर्लाबारी, बिर्तामोड, झुम्का लगायतका स्थानमा समेत प्रदर्शन भैरहेको छ। अन्य स्टेसनमा समेत फिल्मको व्यापार र दर्शक प्रतिक्रिया उत्साहजनक रहेको हल संचालकले जानकारी गराएका छन् ।

