पुसमा कठ्याङ्ग्रीएको फिल्मी बजारलाई फिल्म ‘छ एकान छ’ र ‘बितेका पल’ले राप दिएका छन् । गत शुक्रबारबाट प्रदर्शनमा यी दुई फिल्मले दर्शकलाई हलसम्म तान्न सफल भएका छन् ।
हलमा कुन फिल्म हेर्ने दर्शकको संख्या कति ? भन्दापनि नेपाली फिल्म हेर्ने दर्शकको संख्या उल्लेख्य छ भन्ने कुराको पुष्टि शुक्रबार प्रदर्शनमा आएका फिल्मले गरेका छन् । पहिलो शोमै हाउसफुलको व्यापार गर्न सफल दिनेश डिसी निर्देशित फिल्म ‘छ एकान छ’ को शनिबारको व्यापार उच्च रह्यो । देशका झन्डै सत्तरी वटा पर्दामा ‘छ एकान छ’ को शनिबारको शो हाउसफुल रह्यो ।
नेपाली फिल्म हेर्ने दर्शकको संख्या कमै रहने कमलपोखरीको विग मुभिजको पर्दा लगायत अन्य मल्टिप्लेक्स पर्दामा शनिबारको शो हाउसफुल रहेको फिल्मका कथाकार, कलाकार तथा निर्माता दिपकराज गिरीले जानकारी दिए । फिल्मको ग्रस कलेक्सन दुई दिनमा करिब ५० लाख हुने आएको उनले बताए । कमेडी फिल्मले गरेको यो व्यापार हिट भन्दा माथिको हो । ६० लाख लगानी रहेको फिल्मले नेपाल रिलिजबाट सजिलै लगानी उठाउने आशा व्यक्त गरे ।
शुक्रबार सन्तोषको ओपनिङ गरेको फिल्म 'बितेका पल'को व्यापार शनिबार भने हाउसफुलको रहेको दाबी निर्माता राजेश घतानीले गरेका छन् । निर्माता घतानीले भने- ‘दर्शकको माउथ पब्लिसिटीले फिल्मको व्यापार बढ्नेमा हामी ढुक्क छौं ।’ दुई दिनमा फिल्मको कलेक्सन कति भयो ? कलेक्सन रिपोर्ट प्राप्त भैनसकेको निर्माता घतानीले बताए । सुरज सुब्बा नाल्बो निर्देशित फिल्ममा केकी अधिकारी, अबिनाश गुरुङ र बाबु बोगटीको मुख्य भूमिका छ ।

