‘कमला’ फिल्मलाई पछि सार्दै अभिनेत्री रेखा थापा ‘हिम्मतवाली’ फिल्मको सुटिङमा जाने तयारीमा जुटेकी छिन् । निर्देशक शविर श्रेष्ठ नयाँ वर्ष रिलिजको फिल्म ‘आधी बाटो’को पोष्टप्रोडक्सनमा व्यस्त भएपछि ‘कमला’ को सुटिङ धकेलिएको हो ।
‘कमला’को सुटिङ तत्काल नहुने भएपछि अभिनेत्री थापा 'लंका' फिल्मका निर्देशक श्याम भट्टराईलाई लिएर ‘हिम्मतवाली’ सुटिङको तयारीमा जुटेकी छन् । रेखाले ‘हिम्मतवाली’लाई आउँदो दशैंमा प्रदर्शन लक्षित गरी निर्माण गर्न लागेको बुझिएको छ । रेखा थापा फाउन्डेशन स्थापना गरेर राउटे बच्चालाई शिक्षा प्रदान गर्दै आएकी अभिनेत्री थापाले ‘हिम्मतवाली’ को सुटिङ आउँदो फागुन १ गतेबाट सुरु हुने बताइन् ।
‘हिम्मतवाली’ मा रेखा बाहेक अन्य कलाकार फाइनल भैसकेका छैनन् । फिल्मको विषयवस्तु गोप्य नै राखिएको छ । प्रशस्त एक्सनका दृश्य समावेश गरिने फिल्मको सुटिङ तराई तथा काठमाडौं परिवेशमा गरिनेछ । फिल्मको संगीत ‘स्लोली स्लोली....’का बसन्त सापकोटाले तयार गर्दैछन् । आफ्नो भूमिका अनुसार माघको एक महिना भने रेखा शरीरको तौल कम गर्न लागि पर्नेछिन् ।

