फिल्म 'मोक्ष'का अभिनेता कोशिस क्षेत्रीलाई पितृशोक परेको छ । अभिनेता क्षेत्रीका बाबु ज्ञानबिर क्षेत्रीको ५४ बर्षको उमेरमा शनिबार हृदयघातका कारण मृत्य भएको हो । ज्ञानबिरको धार्मिक संस्कार अनुसार शनिबारनै हेटौंडाको राप्ती तटमा दाहसंस्कार गरियो ।
फिल्म 'मजबुर'का संगीतकार एबं गायक ज्ञानबिर हेटौंडाको टिसिएन रोड स्थित आफ्नै निवासमा सुतिरहेको अबस्थामा बिहान चार बजे मृत अबस्थामा भेटिएको छोरा कोशिसले जानकारी दिए । ज्ञानबिर लामो समयदेखि नेपाली संगीत क्षेत्रमा गायन, संगीतकार एबं कलाकारको रुपमा परिचित थिए । उनले नेपाली, भोजपुरी गरेर पाँच सय गीतमा संगीत भरेको जानकारी छ ।
चेतना, प्रियतमा लगाएतका एल्बमहरू निकालिसकेका ज्ञानबिरले लामो समय मुम्बइमा संगीत र गायन क्षेत्रमा समेत काम गरेका थिए । मुम्बइमा काम गर्दा लता मंगेस्कर र महेन्द्र कपुरको हातबाट एकसलेन्ट भोकलिष्टको अवार्ड समेत पाएका क्षेत्रीको श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् ।
दाहासंस्कार कार्यक्रममा मकवानपुरका श्रष्टाहरूको बाक्लो उपस्थिती थियो । अल्पायुमै निधन भएका क्षेत्रीको निधनले नेपाली साँगीतिक क्षेत्रले ठूलो घाटा बेहोर्नु परेको मकवानपुरका श्रष्टाहरूले बताए ।
यस दु:खद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै फिल्मीखबर डट कम परिवार शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।

