'इतिहास मेटिएर नै लेखिन्छ । हाँस्य कलाकारको फिल्म चल्दैन भन्ने इतिहास मेटिएर आज चल्छ भन्ने इतिहास नेपाली फिल्म क्षेत्रमा लेखिएको छ', ‘छ एकान छ’ को सुरुवाती हाउसफुल भएको खुसियालीमा निर्माता दीपाश्री निरौलाले साहित्यिक पाराले भनिन् ।
आज (पुस २६ गते)देखि देशभर प्रदर्शन भएको कमेडी फिल्म हेर्ने दर्शकको संख्या उल्लेख्य रहेको निर्माता दीपाश्रीले जानकारी दिईन् । हेटौंडामा हल समेत सञ्चालन गर्दै वितरक नरेन्द्र महर्जनले यस फिल्मको सुरुवाती व्यापार बारे भने- ‘दशैंपछि हराएका दर्शक हलमा फर्किएका छन् । ‘काली’ पछि ‘छ एकान छ’ को व्यापार उत्साहप्रद छ ।’
निर्माता दिपकराज गिरीले राजधानीका धेरै हलहरूमा दर्शकको ओईरो लागेको जानकारी दिए । दिपकले कतिपय मल्टिप्लेक्स पर्दामा हिन्दी फिल्म भन्दा ‘छ एकान छ’ हेर्न दर्शकको संख्या माथि रहेको दाबी गरे । ‘छ एकान छ’ का चुलबुल पाण्डेले थपे- ‘प्रचार प्रसार गरे भन्दा बढी दर्शक हलमा आए । हामी खुसी छौं ।’ प्रचार खर्च सहित लगानी ६० लाख पुगेको उनको दाबी छ ।
फिल्ममा तीतो सत्यका दिपकराज गिरी, मेरी बास्सैका सिताराम कट्टेल ‘धुर्सुस’, केदार घिमिरे ‘माग्ने बुढा’, जिरे खुर्सानीका शिवहरी पौडेल ‘मुखाँ हान्नु जस्तो’, जितु नेपाल ‘मुन्द्रे’, सन्दिप क्षेत्री र नीता ढुङ्गानाको मुख्य अभिनय छ । दिनेश डिसी निर्देशित फिल्मलाई दर्शकले मन परेको प्रतिक्रिया दिएका छन् ।
प्रतिस्पर्धाको मैदानमा उत्रिएको फिल्म ‘बितेका पल’ को व्यापार भने सन्तोषजनक रहेको निर्माता राजेश घतानीले फिल्मीखबरलाई जानकारी दिएका छन् । निर्माता घतानीले फिल्मको सुरुवाती व्यापार बारे भने- ‘हाम्रो इनिशियल हान्ने फिल्म हैन । आज जति दर्शक हलमा आए, हामी सन्तुष्ट छौं । हाम्रो व्यापार शुक्रबारबाट हैन आइतबारबाट काउन्ट हुन्छ ।’ माउथ पब्लिसिटीबाट दर्शक बढ्ने विश्वास निर्माता घतानीले गरे । केकी अधिकारी, अबिनाश गुरुङ र बाबु बोगटीको मुख्य अभिनय रहेको फिल्मलाई सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन् ।
यस्तै आजैबाट रिलिज भएका अन्य दुई फिल्म 'पराई' र 'योद्धा'को भने ओपनिङ न्यून रहेको खबर प्राप्त भएको छ । राजधानीको मुख्य दुई मल्टिप्लेक्स बिग मुभिज र एफक्यूबमा 'पराई' हेर्ने दर्शक नआएपछि शो नै 'क्यान्सिल' गरिएको छ । सिङगल स्र्किनमा निर्मातालाई चित्त बुझाउने दर्शक मात्र आएको रिपोर्ट छ ।
'एचआईभी` संक्रमित बच्चालाई `बितेका पल`



'सफलता एचआईभी शिशु सदन'ले पाल्दै आएको एचआईभी संक्रमित बालबालिकालाई 'बितेका पल' फिल्म देखाईएको छ । आज साँझ कमलपोखरीस्थित बिग मुभिजमा फिल्मकी अभिनेत्री केकी अधिकारीले डेढ दर्जन 'एचआईभी` संक्रमित बालबालिकालाई फिल्म देखाईन् ।
उचित लालनपालन सहित मनोरञ्जनको आवश्यकता महसुस गर्ने एचआईभी संक्रमित बालबालिकाले फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरे । कुन फिल्म हेर्न आएको ? भन्ने प्रश्नमा एकैस्वरमा उनीहरूले भने- 'बितेका पल' । फिल्म कस्तो लाग्यो त ? 'केकी दिदीको अभिनय राम्रो,' एक बालकले भने । केकीले पनि फिल्म देखाउन पाएकोमा खुसी व्यक्त गरिन् ।

