निर्माता छवि ओझाले ‘लोफर’ सुटिङ सुरु गर्दा फिल्मको नव अभिनेत्री रजनी केसीको बढी चर्चा भयो । चर्चा यसकारण भयो, निर्माता ओझाले पुर्व पत्नी रेखा थापालाई हटाउँदै रजनीलाई ‘लोफर’ मा लिएका थिए ।
सफल निर्माताको पथमा रहेका निर्माता ओझाको ‘लोफर’ ले सोचे अनुरुप व्यापार गर्न नसकेपछि रेखालाई रिप्लेस गरेकी रजनीको चर्चा स्वतः सेलायो । चर्चा गरिए अनुसार ‘लोफर’ मा रजनीको रोल यादगार थिएन नै उनको अभिनय पनि ‘वाच’ गर्न लायकको नभएको भनेर समेत कतिपयले तर्क गरे । अभिनयमा कमजोर भएरै होला छवि क्याम्पकी हिरोइन रजनी हाल अभिनयको ‘वर्कसप’ मा व्यस्त छिन् ।
दुई सातादेखि सुरु भएको रजनीको अभिनयको ‘वर्कसप’ तीन महिनासम्म चल्नेछ । अनामनगरस्थित मण्डला नाटकघरमा रजनी हरेक बिहान ३ घण्टा राजन खतिवडा र दयाहाङ राईसँग अभिनयको कक्षा लिने गर्छिन् । अभिनयको कक्षा लिन ‘लोफर’ हिरोइन निकै जागरुक रहेको गुरू राजन खतिवडाले बताए ।
‘लोफर’ रिलिज पश्चात एउटा लोकपप म्यूजिक भिडियोमा अभिनय गर्न भ्याएकी रजनीले पनि अभिनय सिक्ने ईच्छा भएकाले उक्त ‘वर्कसप’ सहभागी भएको बताईन् । उनले भनिन्- ‘अभिनय सिक्दा फरक पर्ने देखेर कक्षा लिएकी हुँ ।’ तत्काल कुनै पनि फिल्म खेल्ने अफर नआएको रजनीले बताइन् । रजनीको यो दैनिकीलाई कतिपयले भने ‘लगन पछिको पोते’ भन्ने उखानसँग तुलना गरेका छन् । ‘लोफर’ खेल्नु अगावै अभिनयको कक्षा लिएको भए कतै रजनीले तारिफ पो बटुल्थिन् कि !

