भारतीय फिल्मबाट चोरीको आरोप खेपिरहेको नेपाली फिल्म क्षेत्रमा एउटा पक्ष भने विपरित देखिएको छ । मिस वर्ल्डसम्मको ताज पहिरिन सफल मिस इन्डिया बलिउड फिल्म बजारमा हिट छन् । विश्व मिडियामा समेत उनीहरुको चर्चा परिचर्चा हुने गर्दछ । ऐश्वर्य राय बच्चन र प्रियंका चोपडा यसका उदाहरण हुन् ।
मिस वर्ल्डमा समेत सहभागीता जनाइसकेका मिस नेपालको उपस्थिति भने नेपाली फिल्ममा नगन्य छ । नेपाली फिल्ममा जम्ने ईच्छा देखाएका रुवि राणा, झरना बज्रचार्य र माल्भिका सुब्बा जस्ता मिस नेपाल नेपाली फिल्ममा जसरी जम्नु पर्ने थियो त्यसरी जम्न सकेनन् । रुवि राणाले एकाध नेपाली फल्ममा सहायक रोलमा अभिनय गरेकी छिन् । उनको अभिनयको निरञ्तरता नयाँ वर्षमा प्रदर्शन हुने फिल्म ‘आधी बाटो’ सम्म आइपुगेको छ ।
अभिनय कला र सुन्दर शरीरकी धनी मिस नेपाल झरना बज्रचार्यलाई नेपाली फिल्म हाँक्ने धेरैको अनुमान थियो । यो अनुमान त्यतीबेला फेल खायो जब उनी अभिनित दर्जन बढी फिल्म फल्प बन्न पुगे । पछिल्लो पटक आलोक नेम्वाङको 'कोही मेरो' फिल्ममा अभिनय गरेकी झरनाको 'सेफ ल्यान्डिङ' नामक फिल्म प्रदर्शनको पखाईमा छ । एक हिन्दी फिल्मा अभिनय समेत गरेकी झरनालाई 'सेफ ल्याण्डिङ'ले सेफ गर्ने आश भने गरिएको छ । तर, झरनाको फिल्म खेल्ने चाहना मर्दै गएको बुझ्नमा आएको छ ।
सन् २००२ कि मिस नेपाल माल्भिका सुब्बाले ‘गुड वाई काडमान्डु’ र ‘गड लिभ्ज इन हिमालय’ गरी दुई फिल्ममा अभिनय गरेकी छिन् । 'गड लिभ्ज इन हिमालयज' नेपाल बाहिरका केहि मुलुकमा प्रदर्शन भएपनि नेपालमा भने सार्वजनिक प्रदर्शन हुन सकेको छैन । यता 'गुड बाई काठमाण्डू' त रिलिज हुन नसक्ने अवस्थामा पुगेको बताईन्छ । राम्रो 'स्टोरी कन्सेप्ट' भएको फिल्म खेल्ने 'एप्रोच' नआएर आफु काँचमा पर्दामा नआएको माल्भिकाले बताउँदै आएकी छिन् ।
म्यूजिक भिडियो र केही फिल्ममा सहायक रोल गरे पश्चात सन् २००९ मा मिस नेपाल भएकी जेनिशा मोक्तान मिस नेपाल भएपछि भने फिल्मबाट हराइन् । ‘कलिउड’ फिल्मको शिर्ष गीतमा कम्मर मर्काएकी मिस नेपाल मलिना जोशीले ‘ऋतु’ नामक फिल्ममा मुख्य अभिनेत्री भएर अभिनय गरेकी छिन् । मिस नेपाल मलिनाको हिरोइन यात्रा कस्तो रहला ? मलिना परिक्षामा छिन् ।
उषा खड्की, पायल शाक्य, सुगारिका केसी, सृष्टी श्रेष्ठ, ईशानी श्रेष्ठ जस्ता मिस नेपालले फिल्म खेल्ने ईच्छा देखाएका छैनन् । फिल्म खेलेका मिस नेपाल पनि हाल सक्रिय छैनन् । मिस नेपालले फिल्म खेलेनन् कि फिल्म नै पाएनन् ? कुरोको चुरो उनीहरू नै जानुन् । नेपाली फिल्ममा मिस नेपालले हिरोइनको अभाव परिपुर्ति गर्ने आशा न्यून हुँदै गएको छ ।

