भोली शुक्रबार अर्थात पुस २६ गते राजधानी सहित मोफसलका झन्डै ७५ वटा पर्दाबाट कमेडी फिल्म ‘छ एकान छ’ प्रदर्शनमा आउँदैछ । तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानीका मुख्य कलाकारको अभिनय रहेको दिनेश डिसी निर्देशित ‘छ एकान छ’ लाई हलसम्म दर्शक तान्न सक्ने फिल्मको रुपमा हेरिएको छ । फिल्मको व्यापार सोचे अनुरुप नै होला ? पुस २६ को बिहानी शोसम्म प्रतिक्षा गर्रौ ।
‘छ एकान छ’ को व्यापार तथा दर्शकले दिने प्रतिक्रियालाई प्रतिक्षा गर्नु परेपनि फिल्मको छायाँकनको क्रममा कलाकारबिच पर्दा पछाडी घटेका केही घटनाहरु भने चाख लाग्दो छ । ‘छ एकान छ’ फिल्मका केही कलाकारसँगको कुराकानीमा फिल्मखबरले पर्दा पछाडी घटेका रमाइला घटनाक्रमलाई प्रस्तुत गरेको छ । फिल्म सुटिङको दौरानमा कलाकार सिताराम कट्टेल 'मस्ट नोटिसेवल पर्सन' बने । सिताराम किन सबैको नजरमा परे ? अर्का कलाकार शिवहरी पौडेल सुनाउँछन्- ‘सितारामले भात यति खायो हामीले उस्को नाम नै भाते राखिदियौं ।’
सम्भव भएसम्म सिताराम दिनमा चार पटक भात खाइदिन्थे । किन ? सितारामले सुनाए- ‘मलाई 'ग्यास्ट्रीक'को समस्या छ । 'एसिडिटी' नबढोस् भनेर बेलाबेलामा भात नै खाइदिन्थें ।' 'ग्यास्ट्रीक' काठमाण्डौमा ११ वर्षसम्म संघर्ष गर्दा उब्जिएको समस्या रहेको सुनाउँदै उनले भने- ‘पहिले पैसा नभएर खान पाइएन, अहिले पैसा भएर पनि खान पाइएन ।’
सुटिङको दौरानमा ‘जिरे खुर्सानी’ का 'मुखाँ हान्नु जस्तो' उर्फ शिवहरी पौडेल भने जोकर बने । जहाँ शिवहरी हुन्थें, त्यहाँ नहाँस्ने कमै हुन्थे । भिजे सन्दिप श्रेत्री सुनाउँछन्- ‘शिवहरी दाई जस्तो 'सेन्स अफ ह्युमर' भएको व्यक्ती मैंले पहिलो पटक भेंटे ।’ तर, शिवहरी स्वयम्लाई चाहिं सुटिङ कस्तो लाग्यो त ? उनले सुनाए- ‘म फिल्मको हिरो हुँ । सुटिङ गर्दा लाग्थ्यो, म पनि राजेश हमाल जस्तै गरी हिड्नु पर्ने होला ।’
भिजे सन्दिप कलाकार शिवहरीको कुरामा यति हाँसे कि एक रात हाँस्दा हाँस्दा उनी वेडबाटै भुइँमा झरे । हाँसेर वेडबाट लडेको घटना सन्दिप जहिल्यै सम्झिन्छन् । भन्छन्- ‘क्षमतावन हाँस्य कलाकारसँग काम गर्दा आफ्नो अभिनय कला देखाउने मौका पाएँ ।’ उनले हाँस्य कलाकारको कला देखेर उनीहरुप्रति सम्मानको भावना समेत जागृत भएको सुनाए ।
‘जिरे खुर्सानी’ का 'मुन्द्रे' अर्थात जीतु नेपाललाई भने त्रिभुवन विमानस्थल परिसरमा पानीमा भिजेर अभिनेत्री नीता ढुङ्गानासँग कम्मर मर्काएको पल यादगार छ । कलाकार जितु नेपाल सम्झन्छन्- ‘त्यो सिनमा पानी पार्नु पर्ने थिएन । तर, प्राकृतिक रुपमै पानी परेपछि त्यस्मै सुटिङ गरियो ।’ निर्माता समेत रहेका फिल्मका अर्का कलाकार दिपकराज गिरीलाई भने सुटिङमा चिन्ता बढी भयो । किन ? उनको जवाफ छ- ‘हाँस्य टेलिफिल्मको झल्को फिल्ममा आउँछ कि भन्ने डर थियो ।’ हाँस्य कलाकारको स्थानलाई चोट नपुगोस् भन्ने कुरामा पनि आफु सुटिङमा जहिल्यै सजग भएको दिपकले सुनाए ।
मेरी बास्सैका 'माग्ने बुढा' अर्थात केदार घिमिरेले पनि फिल्मको सुटिङ अत्यन्तै रमाइलोसँग सकिएको अनुभव साटे । अभिनेत्री नीता ढुङ्गानाले उस्तै अनुभव सुनाइन् । निर्माता तथा सह-निर्देशक दीपाश्री निर्रौलाले फिल्म सुटिङ गर्नु सामान्य कुरा नरहेको बताइन् । निर्माता निर्मल शर्मा भने हाँस्य कलाकारसँग ठुलो पर्दामा काम गर्दा रमाइलो भएको सुनाउँछन् ।

