नेपाली फिल्म निर्माणमा नयाँ 'मेकर्स'को लगानी बढदै जाँदा पूराना 'मेकर्स'को लगानी भने लगभग ठप्प जस्तै देखिएको छ । फिल्म निर्माण असुरक्षित हुँदै गएपछि उनीहरु सुरक्षित क्षेत्रतर्फ लागेका छन् ।
घाटा नाफा जे भएपनि पुराना निर्माता छवि ओझाले फिल्म निर्माण गर्ने कार्यलाई निरञ्तरता दिइरहेका छन् । ‘लोफर’ रिलिजपछि छवि ‘लज्जा’ को सुटिङमा व्यस्त छन् । छवि पथमा रहेका अन्य निर्माता भने हाल फिल्म निर्माणमा भन्दा पनि अन्य व्यापार व्यवसायमा लागेका छन् ।
लगातार फिल्म निर्माण गर्ने निर्माता केशव भट्टराई फिल्म ‘सो सिम्पल’को व्यवसायिक घाटा पछि फिल्म निर्माणमा फर्कन सकेका छैनन् । निर्माता भट्टराईले ‘सो सिम्पल’को घाटाबाट भन्दा पनि फिल्ममा लगाएको लगानी फिर्ता नहुने देखेर फिल्म निर्माण नगरेको बताए । उनले भने- ‘म अब केही नगर्ने र नबोल्ने स्थितिमा पुगेको छु ।’ उनले आफु फिल्म निर्माण भन्दा पनि फिल्मको नीति तथा निर्देशनको तहमा बसेर काम गर्ने बताए ।
त्यस्तै अर्का निर्माता रोज राणा पनि वर्तमान फिल्मको बजारलाई कारण देखाउँदै घोषणा गरिएका फिल्म निर्माणमा समेत जुट्न सकेका छैनन् । लगातार आधा दर्जन फिल्म निर्माण गरेका रोज भन्छन्- ‘फिल्म निर्माण एउटा व्यापार हो । जब बजार नै घाटामा छ भने व्यापार किन गर्ने ?’ रोजले फिल्म बजार सकिन लाग्दा समेत फिल्म संवद्ध संस्थाले आवाज नउठाएकोमा रोष व्यक्त गरे । निर्माता संघका उपाध्यक्ष समेत रहेका रोजले भने- ‘निर्माता संघले समेत नेपाली फिल्मको बजार विकासका लागि कुनै पहल गरेको छैन । यस्तै ताल हो भने अबको ५ वर्षमा फिल्म बजार सकिन्छ ।’ घोषणा गरिएको ‘हिरोइन’ फिल्म यही वातावरणमा निर्माण नगरिने उनले बताए ।
फिल्मका पुराना लगानीकर्ता मध्ये अशोक शर्मा पनि फिल्म निर्माणमा निस्क्रिय छन् । ‘ट्रक ड्राइभर’, ‘अल्लारे’, ‘मीतिनी, ‘अन्दाज’ सहित आधा दर्जन फिल्म निर्माण गरेका शर्मा हाल फिल्म निर्माण भन्दा फिल्म एक्जिविसन कम्पनी डिसिएनमा व्यस्त छन् । युवराज लामा र श्रवण घिमिरेले फिल्म निर्माण नगरेको धेरै वर्ष भैसक्यो । निकै पूराना निर्माता चिरञ्जिबी बस्नेत अहिले फिल्म क्षेत्रबाट टाढिएका छन् । उनको पनि निर्माणमा फर्कने छाँट देखिएको छैन ।
अभिनेता भुवन केसी पनि रजतपटमा सफल निर्माताको रुपमा चिनिन्छन् । ‘करोडपती’, ‘म तिमी बिना मरिहाल्छु’ जस्ता बम्पर व्यापार गर्ने फिल्ममा लगानी गरेको अभिनेता केसी पछिल्लो फिल्म ‘साथी म तिम्रो’ पछि फिल्म निर्माणमा फर्कन सकेका छैनन् । दोस्रो संविधान सभाको सभासद बन्न असफल भएका भुवनले 'करोडपती'को सिक्वेल निर्माण गर्ने भनिएपनि एमालेबाट सभासद बन्न असफल भए जस्तै 'करोडपती'को सिक्वेल निर्माण गर्ने योजना त असफल हुँदैन ? फिल्म बजारमा हल्ला चल्न सुरु भैसकेको छ ।
नेपाली फिल्ममा लगानी गर्नेहरु नयाँ आए भन्दा पूराना लगानीकर्ता कता हराए ? यसमा सम्बन्धित पक्षले ध्यान नदिए नयाँबाट पूराना हुँदै गरेका निर्माता पनि हराउने एकथरीले चिन्ता व्यक्त गरेको छन् । नयाँलाई निरञ्तरता र पूरानालाई कसरी फर्काउन सकिएला ? नयाँ तथा पूराना निर्माताहरू फिल्म सम्बद्ध संघसंस्थालाई भन्छन्- ‘फिल्म निर्माण गरेर सहज रुपमा प्रदर्शन गर्ने वातावरण देऊ ।’

