राणा कालमा कृषि क्रान्ती र प्रजातन्त्रको पक्षमा आवाज उठाएर साहदत प्राप्त गरेका भिमदत्त पन्तको जीवनकथामा आधारित रहेको फिल्म ‘भिमदत्त’को शो हङ्कङमा गरिने भएको छ । हङकङ शहरमा ‘भिमदत्त’ को शो मार्च २ तारिखमा हुनेछ ।
‘गोर्खा सन एण्ड डटर्स संघ’ले त्यहाँ शो सञ्चालन गर्ने लागिएको फिल्मका अभिनेता तथा निर्माता नवल खड्काले फिल्मीखबरलाई जानकारी दिए । नवलले भने- ‘नेपाली स्वतन्त्र राजनीतिज्ञको फिल्मलाई विश्वभर नै प्रदर्शन गर्ने हाम्रो लक्ष्य छ ।’ पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको फिल्म देखाउने बारे अन्य मुलुकमा छलफल भैरहेको निर्माता खड्काले बताए । नेपालमा भने यो फिल्म आउँदो ०७१ सालमा मात्रै प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
हिमग्याम टासी निर्देशित ‘भिमदत्त’ मा निर्माता नवल खड्का भिमदत्तको भूमिकामा प्रस्तुत भएका छन् । अभिनेत्री सुमीना घिमिरे भिमदत्तको पत्नी र अभिनेत्री निशा अधिकारी अनुसन्धानकर्ताको भूमिकामा प्रस्तुत भएका छन् । भिमदत्तको जन्मथलो डढेलधुरा लगायतका स्थानमा छायाँकन गरिएको फिल्ममा श्रीराम पुडासैनी, कविता शर्मा लगायतको भूमिका छ । सुटिङ ताका फिल्म युनिटले सेनाको हेलिकप्टर प्रयोग गरेको विषय विवादमा तानिएको थियो ।

