पुस २६ गते प्रदर्शन हुने दुई फिल्म ‘छ एकान छ’ र ‘बितेका पल’ को प्रतिस्पर्धालाई लिएर मात्रै फिल्म बजार तातेको छैन । कमेडी फिल्मका निर्माता तथा निर्देशक बिचको सम्बन्धले पनि पुसको ठन्डीलाई तताइरहेको छ ।
बजारीय हल्लालाई पत्याउने हो भने फिल्मका निर्देशक दिनेश डिसी र निर्माता त्रय दिपकराज गिरी, दीपाश्री निर्रौला र निर्मल शर्माबिचको सम्बन्ध मह जस्तो गुलियो भन्दा पनि कागती जस्तो अमिलो बन्दै गइरहेको छ । यद्पी आफ्नो सम्बन्ध सुमधुर नै रहेको भन्ने दाबी दुई पक्षले गर्दै आइरहेको छन् । भित्री सम्बन्ध कस्तो छ ? उनीहरु नै जानुन् । तर, फिल्मको सुटिङ सुरु गर्दादेखि नै निर्देशक डिसी र निर्माताको सम्बन्धमा खटपट आउन थालेको हल्ला छ ।
पुस २३ गते फिल्म ‘छ एकान छ’ युनिटले सञ्चारकर्मीसँग आयोजना गरेको रात्री भोजमा पनि निर्देशक डिसी र निर्माताको सम्बन्ध मह जस्तो गुलियो छैन भन्ने हल्लालाई मलजल मिलेको सहभागी सञ्चारकर्मीले त्यो बेला लख काटे जुनबेला दरबारमार्गस्थित किङ्ग्स क्याफेमा साँझ पाँच बजेदेखि सुरु भएको उक्त भोजमा दिपक, दिपा र निर्मल शर्मा सुरुदेखि नै पाहुनाको स्वागत गर्न व्यस्त भैरहंदा निर्देशक डिसी भने प्रायः पाहुना लाखापाखा लागेपछि त्यहाँ आइपुगे ।
फिल्मकी सोलो हिरोइन नीता ढुङ्गाना पनि जमघट सकिनै लाग्दा निर्देशक डिसी भन्दा अघि आइपुगेकी थिइन् । निर्देशक डिसी सिधै निर्माता तथा कलाकार भएको हलमा प्रवेश गरेनन् । उनी अर्को हलमा डिनर लिंदै गरेका सञ्चारकर्मीसँग भलाकुसारी गर्न छिरे । दिपक, दिपा र निर्मलसँग उनको गहिरो गफगाफ भएन जुन हुनुपर्ने थियो । यो घटना सञ्चारकर्मीलाई हेर्न लायकको बन्यो । उनीहरुको सम्बन्ध मह जस्तो गुलियो कि कागती जस्तो अमिलो ? सञ्चारकर्मीलाई छुट्याउने मुस्किल पर्यो ।

