नेपाली फिल्म बजारमा अर्को भाले भिडन्त हुने भएको छ । नेपाली नयाँ बर्षको छेकोमा आफ्नो फिल्मलाई प्रदर्शन गर्न निर्माता तथा निर्देशक बिच तँछाड मछाड सुरु भएको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार नेपाली बर्ष ०७१ को मुखमा चार फिल्म प्रदर्शन हुँदैछन् । एउटै मितिमा प्रदर्शन हुने फिल्मलाई चानचुने रुपमा हेरिएको छैन ।
‘लुट’ निर्देशक निश्चल बस्नेतको दोस्रो फिल्म ‘टलक जंग भर्सेस टुल्के’ चैत्र २८ को मितिमा प्लस हुन आएको छ । पोष्ट प्रोडक्सनमा रहेको निश्चलको यो फिल्मलाई कुनै पनि हालतमा चैत्र २८ गते प्रदर्शन गरिने तयारी भैरहेको बुझिएको छ । डार्क कमेडी फिल्मको यो फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, शुशाकं मैनाली, ऋचा शर्मा लगायतको मुख्य भूमिका छ । रविन्द्र सिंह बाँनिया निर्मित यस फिल्मलाई मल्टिप्लेक्स लक्षित मानिएको छ ।
स्व.शिव रेग्मी निर्देशित फिल्म ‘मनले मनलाई छुन्छ’ ले चैत्र २८ मा प्रदर्शनको लागी तयारी गरिरहेको छ । विरेन श्रेष्ठ, गरीमा पन्त र सुमन सिंह अभिनित यो फिल्म सामाजिक प्रेम कथामा आधारित छ । विकास आचार्यको फिल्म ‘नाइ नभन्न ल २' र शविर श्रेष्ठ निर्देशित फिल्म ‘आधी बाटो’ ले चैत्र २८ लाई प्रदर्शन मिति तोकेर प्रचारमा समेत उत्रिसकेका छन् ।
विकास आचार्य निर्देशित फिल्म ‘नाइ नभन्नु ल २’ बाल प्रेमकथामा आधारित छ । यस फिल्मका मुख्य पात्र अुनभव रेग्मी हुन् । फिल्ममा प्रियंका कार्की, सुरज सिंह ठकुरी, सरोज खनाल, जीवन लुइँटेल, सिताराम कट्टेल, सुज्ञानी भट्टराई, बर्षा सिवाकोटी लगायतको मुख्य भूमिका छ । रमेश त्वायना निर्मित म्युजिकल लभ स्टोरीको फिल्म 'आधी बाटो'मा भने गायक यश कुमार, जेनिशा केसी, सविन श्रेष्ठ, अनु शाहको मुख्य अभिनय छ ।

