भोजपुरी फिल्मका व्यस्त नेपाली अभिनेता विराज भट्ट एक अनटाइटल नेपाली फिल्ममा अनबन्धित भएका छन् । प्रोडक्सन म्यानेजर अरुण रेग्मीको लगानी तथा ऋषि लामिछानेको निर्देशन रहने फिल्ममा विराज मुख्य कलाकारको रुपमा फाइनल भएका छन् ।
शिर्षक तोक्न बाँकी उक्त नेपाली फिल्म साइन गर्नकै लागी एक्सन स्टार केही दिनदेखि नेपालमा छन् । विराज नै किन ? निर्देशक लामिछानेले भने- ‘कथाको माग र नेपाली फिल्ममा स्टारडमको आवश्यकता छ भन्ने महसुश गरेर विराजलाई फिल्ममा लिने निर्णय गरेका हौं ।’ निर्देशकले आजै विराजसँग एग्रीमेन्ट भएको जानकारी समेत दिए । यस्तै उनले अहिले पनि बिराजको क्रेज अत्याधिक रहेको बताए ।
फिल्ममा विराज बाहेक अन्य कलाकारको टुङ्गो लागी सकेको छैन । एक्सन लभ स्टोरीको फिल्मको सुटिङ मिति तय गर्न बाँकी छ । पुसको अन्त्यतिर फिल्ममा समावेश गीतको स्वराङ्कन गरिने निर्देशकले जानकारी दिए । फिल्ममा बसन्त सापकोटाको संगीत हुनेछ । शिवम अधिकारीको कथा रहेको फिल्ममा विराजलाई खतरनाक एक्सन शैलीमा प्रस्तुत गर्ने बताइएको छ ।

