Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

नेताज्यू शैलीमा दिपकले भने- `हार स्विकार्न तयार छु`

रेम बिक, पोखरा, 2014/01/06
चुनावको बेलामा नेताज्यूहरु जनताको घरदैलोमा पुग्दै सबैलाई हात जोडेर नमस्ते गर्छन् । आफ्नो पक्षमा भोट माग्छन् र जितेको खण्डमा ‘यसो गर्ने, उसो गर्ने’ भन्दै भाषण गर्छन् । सोमबार पोखरामा भेटिएका दिपकराज गिरीको हालत कुनै चुनावी माहौलमा भेटिएका नेताज्यूको भन्दा फरक थिएन । 
 
दिपकले हात जोड्दै सबैलाई नमस्कार गर्दै हिँडेका थिए । रेस्टुरेन्ट, सडक, फिल्म हल, रेडियो लगाएतका स्थानहरुमा प्रचारप्रसार गर्दै हिँडेका दिपकको हात जोडिएकै थियो । फरक यति थियो, नेताले आफ्नो पक्षमा भोट माग्छन् भने उनले २६ गते नेपालभरी चल्न लागेको फिल्म ‘६ एकान ६’ हेरिदिन अनुरोध गर्दैथिए । उनी नमस्कार भन्नुको साटो ‘६ एकान ६’ भनिरहेका थिए । 
 
कुराकानीकै क्रममा दिपकले फिल्मको प्रचारलाई चुनावकै प्रचारसंग जोडे । ‘संविधानसभाको चुनाव पनि अन्तिम समयसम्म हुने हो वा होईन शंका थियो,’ दिपक भन्दै थिए- ‘मेरो यो फिल्म पनि हिट हुने हो वा होईन शंका नै छ ।’ यद्यपी उनले आफुले भरोसा लाग्दो फिल्म बनाएका कारण लगानी सुरक्षित हुनेमा भने ढुक्क रहेको बताए । 
 
के फिल्म फ्लप भयो भने एमाओबादीका प्रचण्डले झैँ जनताले धाँदली गरे भन्ने त ? भन्ने प्रश्नमा दिपकले हाँस्दै भने- ‘म त्यसो गर्दिन, म हार स्विकार्न तयार छु, भलै त्यस्तो नहोस् ।’ उनले अगाडि थपे- ‘यदि भैहालेको खण्डमा पनि म पत्रकार सम्मेलन गरेर भन्नेछु कि जनताले हामीलाई फिल्ममा होईन टेलिभिजनमै बस् भनेर जनमत दिएका हुन् भनेर ।’ यद्यपी फिल्म ‘६ एकान ६’मा नेपालका प्रायजसो सबै हाँस्य कलाकारहरुको जमघट भएका कारण दर्शकले साथ दिनेमा कुनै दुईमत नरहेको उनले विश्वास दिलाए । 
 
फिल्म प्रचारलाई चुनावी प्रचारसँग जोडिरहेका दिपकले आफु केन्द्रमा मात्र नभएर स्थानियस्तरमा पनि पुगेर ‘६ एकान ६’ को विषयमा दर्शकहरुलाई जानकारी गराईरहेको बताए । ‘केन्द्रमा मात्रै बोलेर स्थानियस्तरमा पुगिएन भने चुनावी नतिजा उल्टो हुन्छ, त्यसैले हामीले त्यहि सिद्धान्तलाई फिल्म प्रचारमा लगाएका हौँ,’ कुनै नेता जसरी बोलिरहेका दिपकले अझै अगाडि थपे- ‘मासदेखि क्लास लेभलका दर्शकलाई समेट्न केन्द्र र स्थानियस्तरमै प्रचार तिव्र पारिएको हो ।’
 
‘६ एकान ६’ पुस २६ गतेबाट अलनेपाल रिलिज हुँदैछ । यहि फिल्मसँग सुरज सुब्बा नाल्बो निर्देशित फिल्म ‘वितेका पल’ पनि चरम प्रतिद्वन्दीको रुपमा २६ गतेबाटै प्रदर्शनमा आउँदैछ ।