Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

बिदेश उड्ने कलाकारको पारिश्रमिक कति ?

फिल्मीखबर, काठमाण्डौ, 2014/01/06

वर्तमान नेपाली फिल्म बजारमा हिट हुने भन्दा फल्प हुने फिल्मको सूचि लामो छ । राम्रो कलेक्सन गर्ने फिल्मले समेत व्यापारमा हावा खाएपछि फिल्ममा लगानी गर्नेहरु हच्किएका छन् । फिल्ममा लगाएको लगानी बालुवामा पानी खन्याए सरह भएपछि फिल्म बन्ने संख्यामा पनि न्यूनता छाएको छ ।

 

फिल्म निर्माणमा छाएको न्यूनताको प्रत्यक्ष असर प्राविधिकदेखि कलाकार सम्मलाई परेको छ । नेपाली मुल धारका एकाध कलाकार मात्रै फिल्मको सुटिङमा व्यस्त छन् । बिक्ने भनिएका कलाकारको फिल्मले समेत हावा खाएपछि निर्माता तथा निर्देशक स्टार कलाकारको विकल्पको पक्षमा उभिएका छन् । विकल्पको खोजी गर्दा नेपाली फिल्ममा जोपनि हिरो हिरोइन बन्ने प्रवृत्ति हावी हुँदै गएको एकथरीको टिप्पणी छ ।

 

निर्माणमा न्यूनता र प्रदर्शन भएका फिल्म फल्प भएपछि कलाकारको व्यस्तता आजभोली मेला, महोत्सव तथा साँस्कृतिक जमघटमा बित्न थालेको छ । देश तथा विदेशमा हुने यस्ता कार्यक्रमले कलाकारको आम्दानीलाई पनि निरञ्तरता दिइरहेको छ । अभिनेत्री झरना थापा युरोपमा तीन महिने साँस्कृतिक कार्यक्रममा भाग लिएर गत साता मात्रै नेपाल फर्किइन् । अर्की अभिनेत्री नन्दिता केसी एक फेसन शोमा सहभागी हुन हाल हङकङमा छिन् । नीता ढुङ्गाना, शुष्मा कार्की, अनु शाह लगायतका अभिनेत्री विदेश साँस्कृतिक कार्यक्रममा भाग लिन जाने तयारी गर्दैछन् ।

 

आम्दानीको उचित स्रोत बन्दै गएको विदेश कार्यक्रमबाट कलाकारले कति पारिश्रमिक पाउँछन् ? फिल्मीखबरलाई स्रोतले दिएको जानकारी अनुसार अभिनेता राजेश हमाल र अभिनेत्री रेखा थापाले एक शो बराबर डेढ लाखदेखि २ लाखसम्म पारिश्रमिक लिन्छन् । विदेशका कार्यक्रममा राजेश सर्वाधिक हिड्ने कलाकार हुन् । अभिनेत्री करिश्मा मानन्धर र झरना थापाले एक शो बराबार सामान्यतया एक देखि डेढ लाख रुपैयाँसम्म लिन्छन् ।

 

शुष्मा कार्की, सुमीना घिमिरे, नन्दिता केसी सहितको पुस्तामा पर्ने कलाकारले एक शो बराबर करिब ७० देखि ८० हजारसम्म पारिश्रमिक लिन्छन् । यी अभिनेत्रीले विदेशका स्टेज कार्यक्रममा नृत्य प्रस्तुत गर्ने गरेका छन् । त्यस्तै विदेशी कार्यक्रमका स्टेजमा सर्वाधिक नाच्ने मोडल तथा नृत्य निर्देशक शंकर विसीले एक शो बराबर ६० हजारसम्म लिन्छन् । फिल्मका अन्य अभिनेताको पनि सरदर एक लाख पारिश्रमिक हुने गरेको स्रोत बताउँछ । कलाकारले पाउने यो पारिश्रमिक फिल्मको भन्दा राम्रो आम्दानीको स्रोत हो ।

 
राजेश हमाल र रेखा थापाका लागी फिल्मी बाटो वैकल्पिक बन्दै गइरहेका छन । नेपाली रजतपटका अन्य कलाकारका लागि पनि फिल्म खेल्नु भनेको वैकल्पिक जस्तै हुन थालेको छ । राजेश र रेखा बाहेकका कलाकार फिल्म नपाएर हैन फिल्म नै नबनेर वैकल्पिक बाटो रोज्न बाध्य भएका छन् ।