निर्माताहरूको कथाव्यथालाई मुख्य बिषय बनाईएको फिल्म 'प्रोड्यूसर'लाई दुबईमा देखाईने भएको छ । फिल्म देखाउन निर्देशक जनकदीप पराजुली हाल दुबईमा पुगेका छन् ।
दुबईबाट फिल्मीखबरसँग कुरा गर्दै निर्देशक पराजुलीले अबको एक महिना जसो हरेक शुक्रबार दुबईका शहरहरूमा फिल्म प्रदर्शन गर्ने बताए । दुबईको एनआरएनको सहयोगमा फिल्म प्रदर्शन गर्न लागेको उनको भनाई छ । देशका बिभिन्न स्थानमा च्यरिटी गरिए पश्चात फिल्म 'प्रोड्यूसर' बिदेशमा रिलिज गर्न लागिएको हो ।
दर्शकलाई 'प्रोड्यूसर' फिल्मले पेट मिचिमिची हँसाउने निर्देशक पराजुलीको दाबी छ । नेपाली फिल्म निर्माणमा आउने उतारचढावलाई व्यङ्गात्मक रूपले प्रस्तुत गरिएको यो फिल्ममा बाबु बोगटी, श्याम अर्याल, विल्सन विक्रम राई, श्वेता भट्टराई, श्याम राई र नवप्रस्तुतीको रूपमा पायल रायमाझीले अभिनय गरेका छन् ।
फिल्मको प्रचार प्रसारलाई तिब्र पार्न यतिबेला निर्माता ज्योतीराज राई र कलाकार विल्सन विक्रम राई पूर्व पुगेका छन् । दुवै जना पूर्वेली भएको नाताले नै प्रचार प्रसारको थालनी पूर्वबाट गरिएको निर्माता राईले जानकारी गराए ।

प्रेसमिटमा निर्माता ज्योतीराज राई र कलाकार विल्सन विक्रम राई । तस्विर : अर्पण ढकाल
धरानमा आज पत्रकार भेटघाटको आयोजना गरेर फिल्मको बारेमा जानकारी दिंदै कलाकार विल्सनले फिल्म क्षेत्रमा संघर्ष गर्दा आफूले भोगेको र देखेको यथार्थ घटनालाई 'प्रोड्यूसर'मा प्रस्तुत गरिएको बताए । फिल्म भित्र प्रोडक्सन म्यानेजरको भूमिकामा प्रस्तुत भएका विल्सनले जीवन्त अभिनय गर्न प्रयास गरेको समेत बताए ।
यस्तै निर्माता ज्योतिराज राईले नेपाली फिल्म क्षेत्रमा निर्मातालाई 'मुर्गा' बनाउने प्रचलन माथि फिल्मले ब्यङ्ग गर्दै सन्देश दिने प्रयास गरेको बताए । फिल्म बास्तविक घटनासंग नजिक रहेको उनको कथन थियो । कार्यक्रममा फिल्मको प्रोमो एवं गीतहरु देखाईएको थियो । पोखरामा फिल्मको अडियो लन्चको कार्यकम राखिएको निर्माता राईले जानकारी दिए ।
आरसी पिक्चर्स र द मिडियाज कलेक्शनको संयुक्त लगानीमा तयार भएको यो फिल्मका प्रस्तुतकर्ता ज्योतीराज राई हुन् । फिल्ममा सागर प्रधानको छायांकन, किरण माइकलको लेखन, रोशन श्रेष्ठको द्धन्दनिर्देशन, राहुल प्रधान, सुरेश राई, किरण माइकलको संगीत तथा प्रज्वललित पराजुलीको सम्पादन रहेको छ ।

