Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मुखौटा`मा माफियाहरूको कथा । को-को होलान् `डन` ?

फिल्मीखबर, काठमाण्डौ, 2014/01/05
काठमाण्डौ उपत्यकामा डनहरूको बिगबिगी छ । दर्जनौं टाउके डनहरूको इशारामा चलेको काठमाण्डौको वस्तुस्थितीलाई फिल्म 'मुखौटा'मा उतारिने भएको छ । माफिया डनहरूको कथा बोकेको फिल्म 'मुखौटा'को औपचारिक घोषणा गरिएको छ ।
 
डनहरूको मुख्य केन्द्र मानिएको ठमेलमा आईतवार फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । ठमेलमै रहेको 'रीफ रेन्टुरेन्ट'का सञ्चालक रबिन श्रेष्ठको निर्माणमा बन्न लागेको यो फिल्ममा नेपाली रजतपटका टाउके हस्तीहरूको मुख्य भूमिका रहनेछ ।
 
फिल्मको कथा र पात्रको भूमिकालाई सस्पेन्स नै राखिएको यो फिल्ममा राजेश हमाल, सौगात मल्ल, दयाहाङ राई, सुनिल थापा, रबिन तामाङ, निशा अधिकारी, हर्षिका श्रेष्ठ, प्रशान्त ताम्राकार र फिल्मलाई निर्देशन गर्न लागेका अभिनेता अर्पण थापाको मुख्य भूमिका रहनेछ । यि मध्ये फिल्ममा को-को कलाकार डन बन्दैछन् त ? निर्देशक बन्न लागेका अभिनेता थापाले खुलाउन चाहेनन् ।
 
फिल्मको बारेमा बोल्दै सबै कलाकारले राम्रो काम गर्ने बताउँदै एकअर्काले स्टारहरूसँग काम गर्न पाउँदा खुसी लागेको बताए । तर फिल्म र भूमिकाको बारेमा कोहि बोलेनन् । अभिनेत्री निशा अधिकारीले भने लामो समय फिल्म नगर्नुको कारण खोल्दै भनिन्- 'मुखौटा जस्तो स्क्रिप्टको पर्खाईमा थिएँ ।' फिल्म किन नगर्नु भएको ? भन्ने जवाफ 'मुखौटा' फिल्मले दिने निशाको भनाई थियो ।
 
'व्याच नम्बर १६', 'धन्दा', 'मौन', 'बधशाला' जस्ता फिल्ममा देखिएका अभिनेता अर्पण थापाले पहिलो पटक निर्देशन गर्न लाग्दा र स्टारहरूको अगाडी उभिन पर्दा प्रेसरको अनुभव गरेको बताए । यस्तै उनले 'मुखौटा' आफ्नो ड्रिम प्रोजेक्ट भएको सुनाउँदै आफ्नो सपना पूरा गर्न साथ दिन लागेका निर्माता रबिन श्रेष्ठलाई धन्यवाद समेत दिए ।
 
यता पहिलो पटक निर्माता बन्न लागेका श्रेष्ठले कथा मन परेको हुनाले लगानी गर्न तयार भएको बताए । फिल्मीखबरसँगको गफमा उनले सिङ्गापुरमा फिल्म सम्बन्धी अध्ययन गर्दाको समयमा नै फिल्म निर्माण गर्ने सोच राखेको बताउँदै उपयुक्त कथा र समय आएकाले लगानी गर्न तयार भएको बताए । 'मोक्ष' फिल्मका छायाँकार समेत रहेका रबिनले 'मुखौटा'मा आफू निर्माताको रूपमा मात्र रहने बताए । उनले फिल्मको लगानी ५० लाख रहने सुनाए ।
 
'रीफ इन्टरटेन्मेन्ट'को व्यानरमा बन्न लागेको यो फिल्मको सुटिङ भोली सोमबारबाट गरिने भएको छ । काठमाण्डौमा नै माफिया डनहरूको कथालाई खिचिने यो फिल्ममा नरेन्द्र मैनालीको छायाँकन, ज्यासन कुवँरको संगीत, रेनशा बान्तवा राईको करियोग्राफी, शुभेच्छा भडेलको कस्टुम डिजाईन तथा चन्द्र पन्तको द्धन्दनिर्देशन रहनेछ । अभिनेता अर्पणले प्रतिक गुरूङसँग मिलेर फिल्मको कथा तयार पारेका हुन् ।
 
आगामी मे महिना तिर रिलिज गर्ने लक्ष्यकासाथ सुटिङमा जान लागेको यो फिल्मको घोषणा कार्यक्रममा 'व्याकग्राउण्ड म्यूजिक'को एक झलक सुनाईएको थियो । सम्भवत फिल्मको घोषणा कार्यक्रममा 'व्याकग्राउण्ड म्यूजिक' सार्वजनिक गरिएको यो पहिलो घटना हो । ३५ दिनमा फिल्मको सुटिङ सक्ने लक्ष्य राखिएको छ ।
 
निर्माता रबिन श्रेष्ठ, कलाकार निशा अधिकारी र कलाकार तथा निर्देशक अर्पण थापा
 
कलाकार त्रय प्रशान्त ताम्राकार, सौगात मल्ल र रबिन तामाङ
 
कलाकार सुनिल थापा
 
कलाकार दयाहाङ राई, करियोग्राफर रेनशा वान्तवा राई र कलाकार हर्षिका श्रेष्ठ
 
कलाकार राजेश हमाल