यतिखेर पुस २६ पर्खाइको मिती बन्दै गैरहेको छ । फिल्म ‘छ एकान छ’ र ‘बितेका पल’ ले फिल्म नगरीमा चर्चा, चासो र विभिन्न खाले अड्कल बाजी उब्जाइदिएका छन् । राम्रो व्यापार गर्न सक्ने आँकलन अनुसार नै यी दुइ फिल्म हेर्न हलमा दर्शकको लाइन देखिएला ? अहिले नै ठोकुवा गर्नु व्यर्थ हुनेछ ।
फिल्मले गर्ने व्यापार पुस २६ गतेको बिहानी शोले नै पुष्टि गर्नेछ । आशा गरौं, कमेडी फिल्म र प्रेम कहानीको फिल्म हेर्न हलमा दर्शकको घुइँचो लाग्नेछ । ‘छ एकान छ’ को व्यापारिक रिपोर्ट जस्तो रहोस् । दिनेश डिसी निर्देशित यो फिल्मले नेपाली फिल्म क्षेत्रमा एउटा इतिहास भने सुरक्षित राख्नेछ ।
हाल टेलिभिजनको पर्दामा हरेक साता प्रशारण हुने कमेडी टेलिफिल्मका मुख्य कलाकारलाई एउटै पर्दामा अटाएको फिल्ममा ‘छ एकान छ’ को नाम उल्लेख हुनेछ । यो फिल्ममा तीतो सत्यका दिपकराज गिरी र दीपाश्री निर्रौलाले अभिनय गरेका छन् । फिल्ममा दिपक लामो रोल भएपनि दीपाले यस फिल्ममा एउटा मात्रै सट दिएकी छिन् । निर्माता समेत रहेकी दीपाले फिल्ममा सह-निर्देशकको भूमिका निर्वाह गरेकी छिन् ।
त्यस्तै जिरे खुर्सानीका मुखा हान्नु जस्तो अर्थात शिवहरी पौडेल जितु नेपाल ‘मुन्द्रे’ को पनि फिल्ममा मुख्य भूमिका छ । फिल्मका अर्का मुख्य कलाकार केदार घिमिरेले माग्ने बुढा र सिताराम कट्टेलले धुर्मुस भएर 'मेरी बास्सै'मा दर्शकलाई हँसाउँदै आएका छन् । यीसँगै बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि फिल्म ‘छ एकान छ’ मा अटाएका छन् । दिपक, दीपा र निर्मल शर्मा ‘गैंडा’ को संयुक्त लगानी रहेको फिल्ममा भिजे सन्दिप क्षेत्री र अभिनेत्री नीता ढुङ्गानाको मुख्य भूमिका छ ।

प्रतिस्पर्धामा रहेको फिल्म ‘छ एकान छ’ ले फिल्म इतिहासमा नयाँ रेकर्ड राखिरहंदा ‘बितेका पल’ का निर्देशक सुरज सुब्बा नाल्बोको लागी भने पुस २६ परिक्षाको दिन हुनेछ । फिल्म ‘बाटो मूनिको फूल’ निर्देशन पश्चात चर्चा र व्यस्तताको बिचमा घेरिएका निर्देशक नाल्बोको फिल्म ‘सायद’ फिल्मलाई पनि रुचाइएको थियो । ‘बाटो मूनिको फूल’ र ‘सायद’ बाट वाही वाही कमाएका निर्देशक नाल्बो निर्देशित पछिल्लो फिल्म ‘फेसबुक’ भने सोचे अनुरुप सफल हुन सकेन । व्यापारिक नाफा कमाउन नसकेको फिल्मलाई दर्शकले पनि ‘वाह’ भनेनन् ।

