अभिनेत्री झरना थापा तीन महिने लामो युरोप भ्रमणबाट गत साता नेपाल फर्किएकी छिन् । युरोपका झन्डै एक दर्जन मुलुकमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेकी अभिनेत्री थापाले छिट्टै नै होम प्रोडक्सनको प्रोजेक्ट लञ्च गर्ने जानकारी फिल्मीखबरलाई दिएकी छिन् ।
युरोपियन मुलुकबाट नेपाली दर्शकको मायाको पोको लिएर नेपाल फर्किएकी झरनाले भनिन्- ‘तीन महिनामा होम प्रोडक्सन फिल्मको होमवर्क सकिन्छ ।’ होम प्रोडक्सनको फिल्ममा को-को सम्वद्ध हुनेछन् र कथावस्तु कस्तो रहनेछ ? भन्ने जिज्ञासामा झरनाले तत्काल केही खोल्न नमिल्ने बताइन् । यद्पी उनले नेपाली दर्शकलाई मन पर्ने फिल्म निर्माण गर्नेमा भने जोड दिइन् ।
होम प्रोडक्सनको पछिल्लो फिल्म ‘फेसबुक’ ले सोचे अनुरुप व्यापार गर्न नसकेपछि थापा दम्पती (पती सुनिल थापा) फिल्म निर्माण गर्न केही ब्याक हटेका थिए । फिल्म निर्माण गर्ने जानकारी दिदैं अभिनेत्री थापाले आफ्नो पहिलो युरोप यात्रा अविस्मरणीय रहेको अनुभव फिल्मखबर समक्ष साटिन् । उनले सुनाइन्- ‘विदेशमा रहेका नेपालीले देखाएको सद्भाव, सत्कार र माया विशेष लाग्यो ।’ झरना रोकिईनन्- ‘उहाँहरु देश बाहिर हुनुहुन्छ । तर, नेपाल र नेपाली कलाकारप्रति उहाँहरुको माया अथाहा छ । विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनी नेपाली फिल्म र नेपालप्रति हरेक समय जानकार हुनुहुन्छ ।’
युरोपबाट झरनाले नेपालीको माया मात्रै ल्याएकी छैनन् । युरोपमा नेपाली फिल्म बजारको ठुलै सम्भावनालाई पनि उनले साथमा ल्याएकी छिन् । बेल्जियम, स्विजरल्यान्ड र इटालीमा ‘फेसबुक’ फिल्मलाई देखाएकी झरनाले भनिन्- ‘युरोपमा नेपाली फिल्मको बजार राम्रो रहेको पाएँ । त्यहाँबाट नेपाली फिल्मले धेरै फाइदा लिन सक्छ ।’
नेपाली आर्टिस्ट फोरमका अध्यक्ष उज्जवल केसी सहित पार्वती अधिकारी, पदम गुरुङ लगायतका नेपाली फिल्मप्रेमीप्रति कृतज्ञाता प्रकट गर्दै झरनाले भनिन्- ‘पहिलो साँस्कृतिक युरोप यात्रा सम्झन लायक बन्यो । अबको लक्ष्य फिल्मको बजार विस्तार गर्ने ।’ झरनाले युरोपमा रहेका नेपाली व्यपारी तथा व्यावसायी नेपाली फिल्ममा लगानी गर्न ईच्छुक रहेको समेत सुनाइन् ।

