एक समयका फिल्ममा स्कर्ट लगाएर चर्चामा आउने अभिनेत्री रेखा थापा ‘काली’ फिल्म प्रदर्शन ताका बर्दीको विषयलाई लिएर चर्चामा आइन् । अहिले नेपाली फिल्ममा रेखा थापा र स्कर्ट हैन, बर्दी र रेखा थापा पर्याय बन्दै गइरहेका छन् । ‘लंका’, ‘काली’ र पोष्ट प्रोडक्सनको क्रममा रहेको फिल्म ‘दमदार’ मा रेखा बर्दीधारी प्रहरी इन्सपेक्टरको भूमिकामा देखा परेकी छिन् ।
छोटो पहिरन लगाएर चर्चा र विवादमा आएकी रेखा पछिल्ला फिल्महरुमा शरीर देखाएर हैन छोपेर चर्चा बटुल्ने बाटोमा छिन् । अपकमिङ प्रोजेक्ट ‘कमला’मा पनि आफ्नो पहिरन लामै रहने रेखाको भनाइ छ । रेखा मात्रै हैन नेपाली फिल्मका नायिका पछिल्ला फिल्ममा सभ्य देखिन थालेका छन् । नेपाली निर्माता तथा निर्देशकको मानसिकताबाट नायिकालाई नङ्ग्याएर फिल्म चल्छ भन्ने भ्रम हट्दैछ । पछिल्लो पटक देखिएको यस्तो प्रवृत्तीबाट नेपाली फिल्ममा देखिन लागेको कथा तथा क्यारेक्टर परिवर्तनको रुपमा विश्लेषण गरिदैंछ ।
पर्दामा पारदर्शी र छोटो पहिर लगाउन माहिर मानिने अभिनेत्री सुष्मा कार्की आफ्नो सेक्सी छविलाई परिवर्तन गर्ने पथमा छिन् । ‘लुट’ फिल्मको आइटम गीत उध्रेको चोली होस् या फिल्म ‘बिन्दास र ‘बिन्दास २’, सुष्माले आइटम गीत र यी फिल्ममा आफ्नो जवानीको 'जल्वा' पेश गरेकी छिन् । तर, छायाँकन चल्दै गरेको फिल्म ‘संजोग’ मा भने सुष्माले 'सोभर गर्ल'को भूमिका निभाएकी छिन् । सुष्माले सुनाउँछिन्- ‘संजोग फिल्ममा मलाई दर्शकले सेक्सी भन्दा पनि सोझी युवतीको भूमिकामा देख्न पाउनु हुनेछ ।’ .jpg)
.jpg)
सुष्माले आगामी अन्य फिल्ममा समेत आफु विवादमा तानिने गरी प्रस्तुत नहुने दाबी गरिन् । उनले भनिन्- ‘म सेक्सी डायलग र पहिरन भएको फिल्ममा काम गर्ने छैन ।’ ‘दुलही’ फिल्ममा सोझी गाउँले केटी भएर नेपाली फिल्ममा प्रवेश गरेकी अभिनेत्री सुमिना घिमिरेलाई दर्शकले केही फिल्ममा सेक्सी भूमिकामा देख्न पाए । तर, सुमिनाको सेक्सी छविप्रति दर्शक खुसी भएनन् । सुमिनाका ‘नाइन ओ क्लक’, ‘लभ फरेभर’ र ‘स्टार’ जस्ता सेक्सी फिल्म घाटामा गए ।
सेक्सी डायलग बोल्दा र कपडा कम लगाउँदा फाइदा नपुगेरै होला सुमिना पछिल्लो समय फिल्मको सुटिङ व्यस्त छैनन् । जाडोमा सुमिनाका दिन घाम ताप्दैमा बित्दैछ । सायद सेक्सी फिल्मलाई इन्कार गरेरै सुमिना खाली छिन् । ‘भिमदत्त’ फिल्ममा सुमिनाले फरिया, चोली र बुलाँकी लगाएर अभिनय गरेकी छिन् ।
त्यस्तै अभिनेत्री विनिता बराललाई नाङ्गीएर हिट बनेकी भन्ने आरोप लाग्ने गरेको छ । विनिताको पहिलो फिल्म ‘चपली हाइट’ मै वोल्ड दृश्य दिएकी थिइन् । उनले उक्त फिल्ममा दिएको गरम दृश्यले निर्मातालाई फाइदा पुर्यायो । विनिता रातारात सेलिव्रेटी बनिन् । तर, ‘चपली हाइट’ पछि विनिताले सेक्सी फिल्म खेलिनन् । चपली हाइटबाट उनले ताली मात्रै हैन गाली पनि पाएकी थिइन् । ‘फुलस्टप’ र प्रदर्शनको क्रममा रहेको ‘सुपरहिट’ फिल्ममा विनिताले वोल्ड दृश्य दिएकी छैनन् ।
'चपली हाइट' जस्तै सेक्सी फिल्म बनाउने जमर्को गर्दा धेरै निर्माताको खल्ती रित्तिएको छ । रेखा, सुष्मा, सुमिना र विनिता जस्तै अन्य अभिनेत्री पनि पछिल्ला फिल्महरुमा शरीर खोल्न भन्दा पनि छोप्न बढी सजग भएको देखिन्छ । यसलाई नेपाली फिल्ममा अभिनेत्रीको भूमिकामा आएको परिवर्तको रुपमा विश्लेषण गरिदैंछ ।
एक समय अभिनेत्री करिश्मा मानान्धर, जल शाह, सारङ्गा श्रेष्ठ, विपना थापा जस्ता अभिनेत्री बिच फिल्ममा गरम दृश्य दिने होडबाजी चलेको थियो । सुन्दरी करिश्मा पछिल्ला फिल्ममा शालिन बन्दै गइन् । मोटोपन बढेपछि जल शाहले आफ्नो भूमिका परिवर्तन गरिन् भने साराङ्गा श्रेष्ठ र विपना थापाले आफ्नो भूमिकालाई उमेर अनुसार परिवर्तन गरे ।
साडी र चोलीमा दर्शकलाई आफ्नो बनाएकी अभिनेत्री निरुता सिंहले पनि पछिल्ला फिल्महरुमा आफुलाई छोटो पहिरनमा प्रस्तुत नगरेकी होइनन् । संचिता लुइँटेललाई दर्शकले बोल्ड दृश्यमा रुचाएनन् । कपडा खोलेरै चर्चा कमाएकी जीया केसीको भने मनस्थिती परिवर्तन अझै नभएको देखिएको छ । हेरौं, उनी पनि कहिलेसम्म छोटो र उत्तेजक पहिरनले चर्चा पाउलिन् ?

