रंगीन दुनियाँका रंगकर्मीबिच बोलचाल नहुनु कुनै नौलो कुरो होइन । दुनियाँलाई रुवाउने र हँसाउने कलाकार सानै कुरामा पनि रिसाइहाल्छन्, बोल्दैनन् । कलाकार एकआपसमा नबोल्दा कहिलेकाही तेस्रो पक्षले पनि समस्या झेल्नु पर्छ ।

शुक्रबार प्रदर्शन भएको फिल्म ‘त्राश’ युनिटले पनि यस्तै समस्या झेल्नु पर्यो । ‘त्राश’ मा मुख्य नायिकाको भूमिका निभाएका अनु शाह र रिया श्रेष्ठ एकआपसमा नबोल्दा निर्देशक प्रकाश ओझालाई पर्नु पिर पर्यो । निर्देशकले उनीहरुको छुट्टाछुट्टै टेक लिनुपर्यो ।
उनीहरु किन बोलेनन् ? निर्देशकले सुटिङ सकिंदा समेत कारण पत्ता लगाउन सकेनन् । अनु र रियाबिच फिल्मको छायाँकन सुरु भएपछि बोलचाल बन्द भएको निर्देशक ओझाले बताए छन् । उनका अनुसार दुई हिरोइन नबोल्दा फिल्म खिच्न निकै मुस्किल भएको थियो ।
कष्ट गरेर फिल्मको सुटिङ सकाएका ओझालाई पुसको जाडोमा फिल्म प्रदर्शन गरेर पनि सुख भने छैन । किनकी पुसको जाडोमा नेपाली फिल्मले उत्साहको व्यापार गर्न सकिरहेका छैनन् । सस्पेन्स श्रेणीको ‘त्राश’ फिल्मले निर्मातालाई नतर्साओस् ।

