गएको बर्ष २०१३ ले नेपाली फिल्म मेकर्स विशेषगरी नयाँ निर्माता तथा निर्देशकलाई गतिलो सन्देश दिएको छ, ‘सेक्सी सिन, भद्दा पहिरन र छाडा डायलगले फिल्म चल्दैन ।’
कथाले मागे अनुसारको दृश्य दिन र अश्लील डायलग बोल्ने कलाकार बर्ष १३ मा चलेनन् । यस्ता कलाकारका फिल्म कतिखेर आए कतिखेर गए ? कुनै पत्तो भएन । गएको बर्ष सेक्सी फिल्मको हालत राम्रो नदेखिएपछि यो अंग्रेजी बर्षमा यस्ता फिल्म न्यून रुपमा निर्माण हुने धेरैको विश्वास छ ।
सुमिना घिमिरेले बर्ष २०१३ मा सबैभन्दा बढी सेक्सी फिल्ममा अभिनय गरिन् । ‘नाइन ओ क्लक’, ‘लभ फरेभर’ र ‘स्टार’ जस्ता फिल्ममा सुमिनाले सेक्सी सिन मात्रै दिइनन्, ‘सेक्स दालभात खाए जस्तै’ भन्ने डायलग भन्न समेत उनी हिच्कीचाइनन् । सेक्सी छविले सुमिना मिडियामा छाइन् तर उनको फिल्म हलमा भने छाएन ।
एटिएम नायिका जीया केसीको ‘बर्बाद’ फिल्म नाम जस्तै व्यापारिक रुपमा पनि बर्बाद बन्यो । ‘बर्बाद’ फिल्मले न रकम कमायो न नाम नै । जीयाको भद्दा नृत्यका कारण यस फिल्मको प्रदर्शन पूर्व आलोचना समेत भएको थियो ।
त्यस्तै फिल्म क्षेत्रमा नायिकाहरु सेक्सुअल रुपमा युज भएका छन् भन्ने विषयलाई आधार बनाउँदै निर्माण गरिएको फिल्म ‘युज’ पनि प्रदर्शन भयो व्यापारिक रुपमा मात्रै चलेन । यस फिल्मकी नायिकाले एक अवार्ड समारोहमा उत्कृष्ट नव नायिकाको अवार्ड थापिन् तर फिल्मका निर्माताले हलबाट रकम थाप्न सकेनन् ।
सुष्मा कार्कीले बोलेको सेक्सी डायलगयुक्त फिल्म ‘विन्दास २’ ले पनि ‘विन्दास’ को जस्तो लगानी उठाउने व्यापार गर्न सकेन । यस्तै राजेश हमाललाई नै सेक्सी कथामा प्रस्तुत गरिएको 'किन किन'को पनि हालत उस्तै भयो । न फिल्म चल्यो न हमालको स्तर बढ्यो । हमाल आलोचनाको पात्र मात्र बने ।

