फिल्मकर्मी भन्छन्- ‘रेखा थापा जे गर्छिन् चर्चाको लागी गर्छिन् ।’ यसमा रेखाको प्रतिवाद हुन्छ- ‘म जे गर्छु त्यसको चर्चा हुन्छ ।’ लोपोन्मुख राउटे समुदायका चार बालबालिकालाई राजधानीमा ल्याएर शिक्षाको व्यवस्था मिलाएकी अभिनेत्री रेखा थापाले पुनः चर्चा बटुल्ने बोली बोलेकी छिन् ।
‘रेखा थापा फाउन्डेशन’ प्रमुख रेखाले साप्ताहिक ‘शुक्रबार’सँगको कुराकानीमा भनेकी छन्- ‘म माओवादी होइन ।’ पेरिसडाँडा पार्टी कार्यालयमा अबिर माला लगाएर एमाओवादी प्रवेश गरेकी रेखा कसरी माओवादी होइनन् त ? रेखाले भनेकी छन्- ‘म पार्टीको मान्छे हुँ । म काङ्ग्रेस, एमाले, एमाओवादी सबै दलको कार्यकर्ता हुँ ।’
रेखाको कथन छ- ‘सबै राजनीतिक नेताहरुले देशकै कार्यकर्ताका रुपमा आफुलाई चिनाउनुपर्छ । नितान्त कलाकार र समाजसेवी रेखा थापा हुँ म । कसैले मलाई माओवादी भन्छ भने त्यसमा मेरो आपत्ती छ ।’ पार्टीको सदस्यता नलिएको र पार्टीको कुनै संगठनमा नभएकोले आफुलाई माओवादी भन्न नमिल्ने रेखाको तर्क छ ।
एमाओवादीले रेखालाई दोस्रो संविधान सभाको प्रत्यक्ष तर्फको टिकट समेत उपलब्ध गराएको थियो । मतदाता नामावलीमा नाम नभेटिएपछि रेखाले पार्टीलाई टिकट फिर्ता दिएकी थिइन् । रेखा पार्टीको चुनावी प्रचारमासमेत सहभागी थिइन् । अब रेखा कसरी माओवादी भइनन् ?

