अंग्रेजी बर्ष २०१४ लाई स्वागत । नेपाली फिल्म क्षेत्रका लागी यो बर्ष फलिफाप बनोस्, हाम्रो शुभकामना ! अंग्रेजी बर्ष २०१३ नेपाली फिल्मको विपक्षमा उभिन पुग्यो । यो बर्ष सर्वाधिक आशा गरिएका फिल्मले व्यापारिक घाटा बेहोरे । प्रदर्शन पूर्व हिट खाएका फिल्म प्रदर्शन पश्चात भने ‘फल्प अफ दि इयर’ बन्न पुगे ।
२०१३ को क्यालेन्डरमा दुई समलिङ्गी युवतीको प्रेमकथामा आधारित फिल्म ‘सुनगाभा’ फिल्म वृत्तमा निकै चर्चामा रह्यो । नेपालमै पहिलो पटक समलिङ्गी युवतीको प्रेमकथालाई मुख्य विषय बनाइएकाले 'सुनगाभा' फिल्म हेर्न मल्टीप्लेक्स फिल्म भवनमा दर्शकको घुइँचो लाग्ने अड्कल फेल खान गयो । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मेला तथा महोत्सवमा समेत देखाइएको 'सुनगाभा' व्यापारिक रुपमा फितलो देखियो ।
२०१३ को ‘मस्ट अवटेड फिल्म अफ् दि इयर’ बनेको ‘छड्के’ फिल्मको सुरुवाती व्यापार वम्परको रह्यो । वम्पर इनिसियल बिजनेश गरेको ‘छड्के’ लाई दुई दिन नबित्दै हलमा दर्शक भर्न हम्मेहम्मे पर्यो । कतिपय फिल्मकर्मीले ‘छड्के’ दर्शक भड्काउने फिल्म भनेर समेत आरोप लगाए । २०१३ को फेब्रुअरीमा प्रदर्शन भएको यस फिल्मलाई दर्शकले रुचाएनन् ।
टिपिकल कथाबस्तु भनेर प्रचार गरिएको फिल्म ‘मञ्जरी’ ले दर्शकको मन लुट्यो तर हलबाट रकम लुटन भने असफल भयो । विभिन्न दलले गरेको बन्द तथा हड्तालको मारमा ‘मञ्जरी’ पर्यो । ‘मञ्जरी’ लाई एक विदेशी फिल्मबाट हुबहु उतारेको भन्न आरोप निर्देशक गणेशदेव पाण्डेलाई लाग्यो ।
नेपाली सेनाले प्रदर्शनमा रोक लगाएपछि ‘बधशाला’ फिल्मले यस्तो मिडिया हाइप पायो कि राष्ट्रिय पत्रपत्रिका तथा टेलिभिजनमा सेनाले फिल्म रोक्का गरेको बारे विभिन्न बहस भए । शशस्त्र द्धन्द्ध कालमा विपक्षीलाई सेनाले दिएको चरम यातनालाई मुख्य विषय बनाइएको यस फिल्मले पाएको चर्चा हलमा क्यास गर्न सकेन । नियमीत दर्शक ‘बधशाला’ को पक्षमा देखिएनन् ।
द्धन्द्धकालको विषयलाई समातेको अर्को फिल्म ‘उमा’ पनि बर्ष २०१३ मा सफल हुन सकेन । समिक्षकबाट ताली पाएको यस फिल्मले दर्शकलाई हलसम्म तानेन । ‘बधशाला’ र ‘उमा’ फिल्म नचल्दा नेपाली फिल्म बजारमा द्धन्द्ध कालको कथा बनाइएका फिल्म चल्छन् ? भन्ने प्रश्न तेर्सियो ।
सेक्स साइक्लोजीको फिल्म ‘साँघुरो’ र युवा अवसरको फिल्म ‘अन्तराल’ लाई पनि फिल्मकर्मीले राम्रो गर्न सक्ने फिल्मको लिस्टमा राखेका थिए । तर, हलमा पुगी सक्दा भने यी दुवै फिल्म असफल बन्न पुगे । समिक्षकबाट तारिफ पाएका ‘साँघुरो’ र ‘अन्तराल’ ले हलमा दर्शकको भिड जम्मा गर्न भने सकेनन् ।
गएको अंग्रेजी बर्षमा ‘म’ बाट सुरु भएका ‘महसुश’, ‘मौन’ र ‘मधुमास’ तीन वटै फिल्म व्यापारिक रुपमा सफल भएनन् । ‘महसुश’ का निर्देशक नवल नेपाल र ‘मौन’ का निर्देशक सुरज भूषालले फिल्मबाट तारिफ पाए । तर, हलमा उल्लेख्य दर्शकको संख्या पाएनन् । निर्देशक सुदर्शन थापाले ‘मधुमास’ लाई राम्रो बनाउन सक्ने ठाउँ बाँकी राखेका धेरैको प्रतिक्रिया रह्यो ।
त्यस्तै अंग्रेजी बर्षको अन्त्यतिर आएर निर्माता छवि ओझाको प्रतिक्षित फिल्म ‘लोफर’ पनि फल्प बन्न पुग्यो । फिल्म निर्माण प्रक्रियामा सफल निर्माताको रुपमा दहरिएका निर्माता ओझालाई ‘लोफर’बाट असफल निर्माताको ट्याग लाग्यो । सोलो रिलिज पाएको ‘लोफर’ ले सोचे भन्दा निकै न्यून व्यापार गर्यो । ‘लोफर’ हेर्नले फिल्मलाई मिश्रित प्रतिक्रिया दिए ।
अंग्रेजी क्यालेन्डर २०१३ मा रिलिज भएको सुपरहिरो फिल्म 'सौर्य' पनि फल्प बन्न पुग्यो । अभिनेता सौगात मल्ल सुपरहिरो लुक्सलाई धेरैले हेर्न सक्ने अड्कल थियो । यस्तै चेलीबेटीको ढुवानीलाई मुख्य बिषय बनाएको फिल्म 'ढुवानी'ले पनि नसोचेको असफलता पायो । नेपाली फिल्म उधोगको कथालाई पर्दामा उतारेको फिल्म 'कलिउड' पनि फ्लप फिल्मको लिस्टमा पर्यो । यो फिल्म पनि प्रदर्शनपूर्व सफलताको आश गरिएको थियो ।
फिल्म 'कर्कश', 'नोटबुक' र 'हमेशा' ले मध्यम व्यापार गरे । यि फिल्मको जति चर्चा भए त्यो अनुसारको व्यापार नभएपनि निर्माता भने खासै निराश देखिएनन् । बर्ष ०१३मा 'रिदम', 'होस्टेल' र 'काली' फिल्म मात्र हिटलिस्टमा दर्ता भए ।

