दोस्रो संविधानसभामा ढोल पिट्दै प्रत्यक्ष तथा समानुपातिक सभासदमा नाम चढाएका फिल्मकर्मीलाई सम्बन्धित राजनीतिक दलले ‘लोप्पा’ खुवाइदिए । अभिनेता भुवन केसीलाई त एमालले जोकर नै बनायो ।
समानुपातिक सभासदमा सिफारिस भएका भुवन निर्वाचन आयोगमा एमालेले पठाएको अन्तिम समानुपातिक सभासद सूचीमा अटाएनन् । एमाओवादीबाट समानुपातिक सभासदको सूचीमा परेका निर्देशकद्धय दिपक श्रेष्ठ र हिमग्याप टासी पनि अन्तिम समयमा आएर जिल्लिए । उनीहरुलाई एमाओवादीले समानुपातिक सभासद बनाएन । अभिनेत्री रेखा थापा आफ्नै कमजोरीले गर्दा प्रत्यक्ष चुनाव लड्न पाइनन् ।
‘नपत्याउने खोलाले बगाउँछ’ भनेझै हल मालिक रामवीर मानन्धर दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भए । एमालेका रामवीरले एमाओवादी नेतृ हिसिला यमीलाई पराजित गरेका थिए । दोस्रो संविधानसभा भवनमा अर्का फिल्म निर्देशक सुवोधकुमार पोखरेलले पनि फिल्म क्षेत्रको प्रतिनिधित्व गर्ने भएका छन् ।
‘मनकामना’ र ‘राधाकृष्ण’ फिल्मका निर्देशक पोखरेललाई मधेसी जनाधिकार फोरम लोकतान्त्रिकले समानुपातिक सभासदको अन्तिम नामावलीको नाम निर्वाचन आयोगलाई सिफारिस गरेको छ । पछिल्लो समय फिल्म निर्देशनमा त्यती सक्रिय नदेखिएका पोखरेल पेशाले चिकित्सक हुन् ।

