नेपाली भाषीको बाहुल्यता रहेको भारतको सिक्किम तथा दार्जीलिङ प्रान्त नेपाली फिल्मको लागी उचित बजार मानिन्छ । यद्पी वितरण तथा प्रदर्शनमा उचित प्रणाली नहुँदा यी प्रान्तबाट नेपाली फिल्मले लिनुपर्ने लाभ लिन सकिरहेका छैनन् ।
नेपाली फिल्मको वितरण तथा प्रदर्शन प्रणालीमा सहजता ल्याउन भन्दै चलचित्र निर्माता संघले दार्जीलिङ सरकारसँग पहल सुरु नगरेको हैन । तर सुनुवाई हुन सकिरहेको छैन । यहि क्रमलाई निरन्तरता दिंदै संघले दार्जीलिङ जेटीएकी स्वास्थ्य विभाग प्रमुख आशा गुरुङलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष राजकुमार राईले विभाग प्रमुख गुरुङलाई फिल्म वितरण तथा प्रदर्शन प्रणालीमा सहजता ल्याउन ज्ञापन पत्र हस्तान्तरण गरे ।
गोर्खाल्यान्ड प्रमुख विमल गुरुङकी पत्नी समेत रहकी आशाले निर्माता संघको यो ज्ञापनपत्रलाई दार्जीलिङको संसदमा प्रस्तुत गर्ने आश्वसन दिदैं श्रीमानसँग नेपाली फिल्म प्रदर्शनको लागी व्यक्तिगत रुपमा पहल गर्ने बताइन् । निर्माता संघको मायाको चिनो थाप्दै उनले भनिन्- ‘फिल्म 'बितेका पल'बाट हामी दार्जीलिङमा नेपाली फिल्मको प्रदर्शनमा सहजता ल्याउने प्रयास गर्छौ ।’ उनी यसै साता ‘बितेका पल’ प्रिमियरको लागी काठमाडौं आएकी हुन् ।
‘बितेका पल’ फिल्ममा आशाका पुत्र अभिनाश गुरुङको पनि मुख्य भूमिका छ । गोर्खाल्यान्ड प्रमुखको पत्नीलाई हस्तान्तरण गरिएको ज्ञापनपत्रले सिक्किम तथा दार्जीलिङमा नेपाली फिल्म प्रदर्शनमा सहजता ल्याउला ?


.jpg)


